काठमाडौँ । मंगलबार सेयर बजारमा सुधार देखिएको छ । सोमबार सेयर बजारमा मापन नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ। सेयर बजारसंगै आज कारोबार रकम पनि बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ । बाँकी ६ उपसमूहको परिसूचक घटेको छ ।
मिड सोलु हाइड्रोपावरको सेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी, आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा आज हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ। आज यस कम्पनीको ४४ करोड ४० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

