काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण गर्न नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले पहल थालेको छ।
बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको भन्दै नाडाले प्रभावित सदस्य व्यवसायीलाई आवश्यक सहयोग र समन्वय गर्ने जनाएको हो।
नाडाका अनुसार बाढीका कारण भन्सार नाकालगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा क्षति पुगेको विवरण प्राप्त भइरहेको छ।
प्रभावित व्यवसायीलाई सहजीकरण गर्न नाडाले सम्बन्धित सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सरोकारवाला निकायसँग समन्वय सुरु गरिसकेको जनाएको छ।
नाडाले बाढी तथा डुबानबाट प्रभावित आफ्ना सदस्य कम्पनीलाई क्षतिको यथार्थ तथा प्रमाणित विवरण सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ।
क्षतिको विवरणमा बाढीबाट क्षति भएका तथा हराएका सवारीसाधन, सवारीसाधन रहेको स्थान र सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या तथा प्रकार, गोदाम र कार्यालयमा भएको क्षति, बीमा गरिएको सम्पत्ति, बीमा दाबीका लागि आवश्यक कागजात तथा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणसम्बन्धी विवरण समावेश गर्न नाडाले अनुरोध गरेको छ।
नाडाले संकलित विवरणका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने जनाएको छ। विशेषगरी क्षतिको समग्र विवरण संकलन तथा अभिलेखीकरण गर्ने, बीमा दाबी प्रक्रिया छिटो र सहज बनाउन बीमा कम्पनीसँग समन्वय गर्ने तथा भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग सहकार्य गर्ने नाडाको योजना छ।
त्यस्तै, प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन वा अन्य सम्भावित सहजीकरणका विषयमा पनि सम्बन्धित निकायसँग समन्वय गर्ने नाडाले जनाएको छ।
अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण सरकार तथा सम्बन्धित सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाको भनाइ छ।
यसका लागि आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित सदस्यका समस्या सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि पहल गर्ने नाडाले जनाएको छ।
नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्को यस कठिन परिस्थितिमा संघ आफ्ना सदस्य व्यवसायीसँगै रहेको बताउँदै प्रभावित सबै सदस्यलाई क्षतिको यथार्थ विवरण यथाशीघ्र सचिवालयमा उपलब्ध गराउन आग्रह गरेका छन्।

