काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणमा सुधार प्रक्रिया अघि बढाउने भएको छ । बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणलाई केन्द्रमा राखेर सुधार रणनीति अघि बढाइएको जानकारी दिएका हुन् ।
बुधबार बिहान बसेको अर्थ समितिको बैठकमा अध्यक्ष भट्टले बजार सुधारका क्रममा सम्बन्धित सहभागी तथा सरोकारवालाको सहभागिता सुनिश्चित गर्ने र सार्वजनिक परामर्शमार्फत सुझाव लिएर नीति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बोर्डले प्राथमिक र दोस्रो बजार सुधारका लागि छुट्टाछुट्टै समिति गठन गरेर काम अघि बढाएको छ । ती समितिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ, नेपाल उद्योग वाणिज्य महासंघ तथा मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधि सहभागी छन् ।
सुधार प्रक्रियालाई पारदर्शी र सहभागितामूलक बनाउन बोर्डले सुरुमा ‘कन्सेप्ट पेपर’ तयार गर्ने, त्यसपछि सम्बन्धित समितिमा छलफल गर्ने, सार्वजनिक परामर्शमार्फत सुझाव संकलन गर्ने र अन्तिम चरणमा नीति कार्यान्वयन गर्ने विधि अपनाएको छ ।
आईपीओदेखि मूल्य निर्धारणसम्म सुधार
प्राथमिक बजार सुधारअन्तर्गत आईपीओ निष्कासन, मूल्य निर्धारण (प्राइस डिस्कभरी), योग्य संस्थागत लगानीकर्ता (क्यूआईआई) तथा सेयर बाँडफाँट प्रणालीसँग सम्बन्धित नीतिहरू तयार भइसकेको अध्यक्ष भट्टले जानकारी दिए । बजारको तयारी र सहभागीको क्षमता हेरेर ती नीतिहरू क्रमशः कार्यान्वयनमा लैजाने बोर्डको योजना छ ।
अध्यक्ष भट्टका अनुसार प्राथमिक बजारमा सुधार गर्दा बजारका सहभागीलाई समेत प्रक्रियामा जोडेर अघि बढ्ने रणनीति लिइएको छ ।
ब्रोकरको संरचना परिवर्तन गर्ने तयारी
दोस्रो बजार सुधारअन्तर्गत बोर्डले ब्रोकर कम्पनीको पुनर्संरचनालाई प्राथमिकतामा राखेको छ । हालको पारिवारिक व्यवसाय केन्द्रित संरचनालाई परिवर्तन गर्दै ब्रोकर कम्पनीलाई थप संस्थागत र औद्योगिक मोडलमा विकास गर्ने नीति बोर्डले अघि सारेको छ ।
बोर्डले ब्रोकर कम्पनीलाई कार्यक्षमता र सेवाको आधारमा चार श्रेणीमा वर्गीकरण गर्ने तयारी गरेको छ । त्यस्ता संस्थालाई स्टक डिलरसिपलगायत थप जिम्मेवारीसहितको विस्तृत संरचनामा लैजाने योजना रहेको अध्यक्ष भट्टले बताए ।
उनका अनुसार प्राथमिक र दोस्रो बजार सुधारका लागि गठन गरिएका समितिमार्फत सरोकारवालाको सुझाव लिने व्यवस्था गरिएको छ ।
नेप्सेको प्राविधिक र साइबर सुरक्षा सुधारमा जोड
बोर्डले पुँजी बजारको मुख्य पूर्वाधारका रूपमा रहेको नेप्सेको सुधारलाई पनि प्राथमिकतामा राखेको छ । नेप्सेको प्राविधिक प्रणाली, अर्डर म्यानेजमेन्ट तथा साइबर सुरक्षामा देखिएका कमजोरीलाई सम्बोधन गर्न नियामकीय व्यवस्थालाई थप कडाइ गर्ने बोर्डको तयारी छ ।
सरकारी स्वामित्वमा रहेका संस्थाबीचको समन्वय अभाव तथा क्षेत्राधिकारसँग सम्बन्धित समस्यालाई सम्बोधन गर्न नेप्सेसँग सम्बन्धित नयाँ नियमनसमेत तयार पारिएको अध्यक्ष भट्टले बताए ।
उनका अनुसार नेप्सेको सञ्चालन तथा नियमनलाई थप व्यवस्थित बनाउन ३१ देखि ३२ वटा नयाँ नियमन तयार पारिएको छ । ती नियमनहरू छिट्टै जारी गर्ने तयारी बोर्डले गरेको छ ।
बोर्डले प्राथमिक बजार, दोस्रो बजार, ब्रोकर संरचना, नेप्सेको प्राविधिक प्रणाली तथा साइबर सुरक्षासहितका क्षेत्रमा एकैपटक सुधार अघि बढाएर पुँजी बजारको संस्थागत र पूर्वाधारगत क्षमता सुदृढ गर्ने लक्ष्य राखेको छ।

