काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले पुँजी बजारको समग्र सुधार, अस्पष्ट कानुनी व्यवस्था परिमार्जन तथा बजारमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि सरकार, नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पाँच बुँदे निर्देशन दिएको छ।
बुधबार बसेको समितिको बैठकले पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र लगानीकर्तामैत्री बनाउन आवश्यक नीतिगत तथा संरचनागत सुधार अघि बढाउन निर्देशन दिएको हो।
समितिले नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल संसद्मा पेस गर्न, प्राथमिक सेयर निष्कासन (आईपीओ) तथा संस्थापक सेयर स्वामित्वसम्बन्धी व्यवस्था पुनरवलोकन गर्न र नेप्से तथा सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)मा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद तत्काल पूर्ति गर्न भनेको छ।
नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन निर्देशन
समितिले विद्यमान कानुनी संरचना पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन पर्याप्त नभएको निष्कर्ष निकाल्दै नयाँ धितोपत्र विधेयक तत्काल तर्जुमा गरी संसद्मा पेस गर्न अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।
नयाँ कानुनी व्यवस्थामा धितोपत्र बोर्ड, नेप्से र सीडीएससीको भूमिका, जिम्मेवारी तथा जवाफदेहिता स्पष्ट पार्नुपर्ने समितिको भनाइ छ। साथै, विधेयकमार्फत लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकता दिनसमेत समितिले भनेको छ।
आईपीओ र संस्थापक सेयर व्यवस्था पुनरवलोकन
समितिले कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनुअघि कम्पनीको पुँजी पर्याप्तता, प्रविधिगत क्षमता, नेटवर्थ, वासलात, प्रतिफललगायत वित्तीय तथा संस्थागत सूचकका आधारमा स्तरीकरण र प्राथमिकीकरण गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।
त्यस्तै, संस्थापक सेयर स्वामित्वसम्बन्धी व्यवस्थालाई समेत पुनरवलोकन गरी बजारको आवश्यकता र कम्पनीको वास्तविक अवस्थासँग मेल खाने गरी सुधार गर्न समितिले भनेको छ।
नेप्सेको प्रणाली र साइबर सुरक्षा स्तरोन्नति
समितिले नेप्सेको पुनर्संरचना, कारोबार प्रणालीको स्तरोन्नति र साइबर सुरक्षालाई समेत प्राथमिकतामा राखेको छ।
नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम (नट्स) तथा डाटा प्रणालीमा समय–समयमा देखिने अवरोधका कारण लगानीकर्ता र सरकारी राजस्वमा समेत असर परेको भन्दै समितिले प्रणालीको तत्काल स्तरोन्नति गर्न निर्देशन दिएको हो।
कारोबार प्रणालीमा साइबर सुरक्षाको उच्चतम प्रत्याभूति हुने गरी आवश्यक प्राविधिक तथा संस्थागत व्यवस्था मिलाउन अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई समितिले सचेत गराएको छ।
‘कर्नरिङ’ र ‘पम्प एन्ड डम्प’मा कडाइ
दोस्रो बजारमा हुने कर्नरिङ, सर्कुलर ट्रेडिङ तथा ‘पम्प एन्ड डम्प’ जस्ता अवाञ्छित गतिविधि नियन्त्रणका लागि सघन निगरानी र प्रभावकारी अनुगमन गर्न समितिले निर्देशन दिएको छ।
मिलोमतोमा सेयर किनबेच गर्ने, कृत्रिम रूपमा सेयरको आपूर्ति नियन्त्रण गरी अभाव सिर्जना गर्ने तथा कृत्रिम माग र मूल्य बढाएर उच्च मूल्यमा सेयर बिक्री गर्ने प्रवृत्तिमाथि निगरानी बढाउन भनिएको छ।
यस्ता गतिविधिमा संलग्न व्यक्ति वा कम्पनी पहिचान गरी तत्काल आवश्यक कारबाहीको दायरामा ल्याउन धितोपत्र बोर्ड र नेप्सेलाई समितिले निर्देशन दिएको छ।
नेप्से र सीडीएससीमा सीईओ नियुक्त गर्न निर्देशन
पुँजी बजारका प्रमुख पूर्वाधारका रूपमा रहेका नेप्से र सीडीएससीमा लामो समयदेखि प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको विषयलाई समेत समितिले गम्भीरतापूर्वक उठाएको छ।
सीईओ पद रिक्त हुँदा संस्थागत कार्यसम्पादन तथा सुधार प्रक्रिया प्रभावित भएको भन्दै समितिले दुवै संस्थामा खुला र पारदर्शी प्रक्रियाबाट तत्काल सीईओ नियुक्ति अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
समितिले पुँजी बजारको नियमन, पूर्वाधार, प्रविधि, संस्थागत क्षमता र बजार अनुशासनलाई एकीकृत रूपमा सुधार गर्दै लगानीकर्ताको विश्वास बढाउनेतर्फ आवश्यक कदम चाल्न सरकार र सम्बन्धित नियामक निकायलाई आग्रह गरेको छ।

