काठमाडौँ । विराटनगर किङ्ससँग चार विकेटले पराजित भएपछि पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्लेअफ दौडबाट बाहिरिएको छ। जारी प्रतियोगितामा प्लेअफ सम्भावना गुमाउने पोखरा पहिलो टोली बनेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३७ रन बनाए। लोकेश बमले ३३ रनको योगदान दिए भने सेहान जयसूर्या १७ र इसुरु उडाना २५ रनमा अविजित रहे।
पोखराका लागि रमेश मेन्डिस र कुशल भुर्तेलले समान दुई विकेट लिए। विपिन खत्री र धनञ्जय लक्षणले एक–एक विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटिएको थियो।
पोखराका ओपनर युवराज शर्माले उत्कृष्ट ब्याटिङ गर्दै ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८४ रन बनाए। धनञ्जय लक्षणले २२ तथा सन्नी बिकेले १२ रन जोडे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
पोखरालाई सस्तोमा समेट्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गरे। उनले चार ओभरमा २७ रन खर्चेर ह्याट्रिकसहित ६ विकेट लिए। यो सन्दीपको टी–२० करियरकै उत्कृष्ट बलिङ प्रदर्शन हो।
सन्दीपले खेलको सातौँ ओभरमा अर्जुन घर्तीलाई आउट गर्दै विकेटको खाता खोलेका थिए। त्यसपछि ११औँ ओभरमा सन्नी बिके र रमेश मेन्डिसलाई आउट गरे।
१५औँ ओभरमा उनले लगातार तीन बलमा विकेट लिँदै जारी एनपीएलको पहिलो ह्याट्रिक पूरा गरे। उक्त ओभरको तेस्रो बलमा युवराज शर्मा, चौथो बलमा चमिका करुणारत्ने र पाँचौँ बलमा किरण ठगुन्नालाई आउट गर्दै सन्दीपले ह्याट्रिक गरेका थिए।
विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले एक–एक विकेट लिए।
यस हारसँगै पाँच खेलमा एक जित मात्र निकालेको पोखरा प्लेअफ दौडबाट बाहिरिएको हो। लिग चरणमा पोखराले अब काठमाडौँ गोर्खाजसँग एक खेल खेल्न बाँकी छ। उक्त खेल जिते पनि पोखरालाई प्लेअफमा पुग्न पर्याप्त हुने छैन।
यता, जितसँगै विराटनगरको प्लेअफ सम्भावना बलियो बनेको छ। तीन जित र तीन हारसहित विराटनगरले ६ अंक जोडेको छ। विराटनगरले लिग चरणको अन्तिम खेलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।
आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन्। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।

