काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोजले कर्णाली याक्स र काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सको सामना गर्नेछन् ।
आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । अंक तालिकाको चौथो स्थानमा रहेको चितवनले यसअघि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । सातौँ स्थानमा रहेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिने अवस्थामा छ ।
यस्तै, दोस्रो खेलमा दिउँसो साढे ४ बजे काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । अंक तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौं पनि प्लेअफमा पुगिसकेको छ भने पोखरा तालिकाको पुछारमा छ ।
लिग चरणका अन्तिम खेलहरू नजिकिँदै गर्दा आजका दुवै प्रतिस्पर्धा अंक तालिकाको अन्तिम समीकरण निर्धारणका लागि महत्वपूर्ण हुनेछन् । यी खेलको नतिजाले प्लेअफमा पुगिसकेका टोलीहरूको वरीयता र अंक तालिकामा अन्तिम स्थानसमेत तय गर्न भूमिका खेल्नेछ ।

