काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद ११ दिने चीन भ्रमणका लागि आज प्रस्थान गरेका छन्।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन गएको हो। भ्रमण टोलीलाई रास्वपाका प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका थिए।
भ्रमण टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी छन्।
चीनमा रहँदा प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका सहरको भ्रमण गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा चीनले प्रविधि, नवप्रवर्तन, औद्योगिक विकास तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा हासिल गरेका उपलब्धिबारे अध्ययन र अनुभव आदानप्रदान गरिने जनाइएको छ।
सुशासन र आर्थिक विकासबारे अनुभव साट्न २० सदस्यीय रास्वपा टोली चीन भ्रमणमा जाँदै
भ्रमण टोलीका सदस्य एवं रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख डा. आनन्दबहादुर चन्दले चीनको प्रविधिगत विकासलाई नेपालको आवश्यकताअनुसार उपयोग गर्ने सम्भावनाबारे अध्ययन गरिने बताए।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, डिजिटल प्रविधि, नवप्रवर्तन र औद्योगिक विकासका क्षेत्रमा चीनले हासिल गरेका उपलब्धि, अवलम्बन गरेका नीति तथा संस्थागत अभ्यासबारे टोलीले जानकारी लिनेछ।
त्यस्ता प्रविधि र अनुभवलाई नेपालको कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा, शिक्षा, सार्वजनिक सेवा प्रवाह, औद्योगिक उत्पादन तथा उद्यमशीलता विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने उनले बताए।
त्यस्तै, टोलीका सदस्य डा. धनञ्जय रेग्मीले भ्रमणले नेपाल र चीनबीच आपसी समझदारी तथा सम्बन्ध विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनका अनुसार भ्रमणले आर्थिक, प्राविधिक र विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार गर्नुका साथै दुई देशबीचको राजनीतिक सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्नेछ।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलका सदस्यहरूले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

