काठमाडौं । पोखरामा आगामी मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने भएको छ। माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजन तथा हिमालयन ट्रेल रनिङसँगको सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ।
प्रतियोगितामा धावकहरूले आफ्नो क्षमता र रुचिअनुसार चार विधामा प्रतिस्पर्धा गर्न सक्नेछन्। आयोजकका अनुसार प्रतियोगितामा ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट), २१ किलोमिटर र ४२ किलोमिटरका दौड समावेश गरिएका छन्।
प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरूले आयोजकको आधिकारिक वेबसाइटमार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्नेछन्।
बैंकले बढ्दो व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताका कारण नियमित व्यायाम तथा खेलकुदको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगितामा सहकार्य गरेको जनाएको छ।
प्रतियोगिताले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ। साथै, नेपालको प्राकृतिक सम्पदा र पर्यटन सम्भावनालाई खेलकुदसँग जोडेर प्रवर्द्धन गर्ने लक्ष्यसमेत प्रतियोगिताले राखेको छ।

