काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘गरिमा रोड रेस २०८३’ सफलतापूर्वक सम्पन्न गरेको छ। ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ शनिबार आयोजित प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावक सहभागी भएका छन्।
बैंकको २०औं वार्षिकोत्सव आगामी मंसिर ७ गते सोमबार परेको छ। वार्षिकोत्सवको अवसरमा बैंकले मंसिर ५ गते शनिबार रोड रेस आयोजना गरेको हो। बैंकले आफ्नो १८औं वार्षिकोत्सवदेखि सुरु गरेको यस प्रतियोगिताको यो तेस्रो संस्करण हो।
प्रतियोगितामा खुला र कर्पोरेट गरी दुई विधाअन्तर्गत महिला तथा पुरुषका चारवटा प्रतिस्पर्धा आयोजना गरिएको थियो।
खुला विधातर्फ १० किलोमिटर दौडमा पुरुषतर्फ तीर्थकुमार पुनले ३१ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। महिलातर्फ राज्य रावलले ३९ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्।
त्यस्तै, कर्पोरेट विधातर्फ ५ किलोमिटर दौडमा पुरुषतर्फ ईश्वर बुढाथोकीले १९ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए। महिलातर्फ दिव्या विष्टले २६ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन्।
खुला विधाको १० किलोमिटर दौड बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानीलकण्ठ नगरपालिका–३ को कार्यालयसम्म पुगेर सोही मार्ग हुँदै बालुवाटारमा सम्पन्न भएको थियो।
कर्पोरेट विधाको ५ किलोमिटर दौड बालुवाटारबाट सुरु भई नारायणगोपालचोक हुँदै न्युरो अस्पताल, बाँसबारीसम्म पुगेर पुनः बालुवाटारमा सम्पन्न भएको थियो।
प्रतियोगितामा खुला विधातर्फ प्रथमदेखि पाँचौं स्थान हासिल गर्ने धावकलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, कर्पोरेट विधातर्फ प्रथमदेखि पाँचौं स्थान हासिल गर्ने धावकले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए। विजेतालाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका अध्यक्ष दिलिप प्रताप खाँड, सञ्चालक समितिका सदस्य तथा पूर्वसञ्चालक, शेयरधनी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकले २०औं वार्षिकोत्सवकै अवसरमा मंसिर ७ गते देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रमसहित विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गर्ने जनाएको छ।

