काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।
लगातार दोस्रो पटक फाइनलमा पुगेका यी दुई टोली यसपटक पनि उपाधिका लागि आमनेसामने हुन लागेका हुन्। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले पहिलो पटक एनपीएलको उपाधि जितेको थियो। यसपटक लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने प्रयासमा हुनेछ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेर फाइनल पुगेको हो। पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो। लिग चरणको भेटमा समेत लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो।
पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमले उपाधि यात्रालाई निरन्तरता दिएको छ। दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो। लिग चरणमा १० अंकसहित दोस्रो भएको सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको टोली हो।
यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग हारेको थियो। लगातार तीन पटक फाइनल पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक त्यो इतिहास बदल्ने लक्ष्यमा छ।
लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेका दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी छन्। लगातार दोस्रो पटक फाइनलमा भिड्न लागेका यी टोलीबीचको प्रतिस्पर्धाले एनपीएलको तेस्रो संस्करणको च्याम्पियन तय गर्नेछ।

