२०८३, मंसिर १३ गते

  • राजनीति
  • चीन भ्रमणबाट फर्किएको टोलीले गर्‍यो पार्टी...

चीन भ्रमणबाट फर्किएको टोलीले गर्‍यो पार्टी सभापति लामिछानेलाई ब्रिफिङ

चीन भ्रमणबाट फर्किएको टोलीले गर्‍यो पार्टी सभापति लामिछानेलाई ब्रिफिङ

images
शुक्रवार, मंसिर ११ २०८३१२:४७
शुक्रवार, मंसिर ११ २०८३१२:४७
  • images

    काठमाडौँ । चीन भ्रमणबाट फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीले पार्टी सभापति रवि लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरेको छ ।

    पार्टी महामन्त्री तथा भ्रमण दलका प्रमुख विपिन कुमार आचार्यले आज सभापति लामिछानेसँग भेट गरी चीन भ्रमणका क्रममा भएका राजनीतिक भेटवार्ता, छलफल तथा अवलोकनबारे जानकारी गराएका हुन् ।

    नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान, चच्याङ र बेइजिङको भ्रमणमा गएको आचार्य नेतृत्वको २० सदस्यीय टोली नोभेम्बर २६ मा नेपाल फर्किएको थियो ।

    भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्ताबारे आचार्यले सभापति लामिछानेलाई विशेष जानकारी गराएका थिए । उक्त भेटसहित केन्द्रीय तहदेखि काउन्टी तहसम्मका चिनियाँ नेताहरूसँग भएका संवादमा दुई पार्टीबीचको सम्बन्ध, आपसी राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका विषयमा छलफल भएको उनले बताए ।

    त्यस्तै, भ्रमणका क्रममा विभिन्न उद्योग तथा व्यवसायको अवलोकन, विपद्पूर्व र विपद्पश्चात्को रणनीति तथा तयारीबारे गरिएको अध्ययन र नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाबारे भएका छलफलका विषयमा पनि सभापति लामिछानेलाई जानकारी गराइएको थियो ।

    भ्रमणबाट प्राप्त अनुभव, उच्चस्तरीय राजनीतिक संवाद तथा छलफल भएका विषयलाई पार्टीभित्र र देश विकासमा लागू हुने गरी कार्यान्वयनमा लैजान सभापति लामिछानेले भ्रमण दललाई निर्देशन दिएका छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा गएको रास्वपाको २० सदस्यीय टोलीले चीनका विभिन्न राजनीतिक, आर्थिक तथा विकाससम्बन्धी क्षेत्रको अध्ययन तथा अवलोकन गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend