काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न प्रधानमन्त्री वालेन्द्र शाह आज शीतलनिवास जाने भएका छन्। प्रधानमन्त्री शाहले दिउँसो ३ बजे राष्ट्रपति पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
राष्ट्रपति पौडेलसँगको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराउने तयारी गरेका छन्। दुई दिने राजकीय भ्रमण सकेर मंसिर ७ गते स्वदेश फर्किएका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र उपलब्धिबारे राष्ट्रपतिलाई ब्रिफिङ गर्नेछन्।
प्रधानमन्त्री शाह मंसिर ६ गते भारतको राजकीय भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री शाहको राष्ट्रपतिसँगको भेटअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेट गरेका थिए। करिब आधा घण्टा भएको भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेका प्रमुख स्वकीय सचिव प्रदीप आचार्यले जानकारी दिएका थिए।
यसरी आजै रास्वपा सभापति लामिछानेपछि प्रधानमन्त्री शाहले पनि राष्ट्रपति पौडेलसँग भेट गर्न लागेका हुन्।

