काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागमा छापा मारेको छ। सर्भर ह्याक तथा ई–पासपोर्टको छपाइका लागि भएका कमजोरीमा देखिएको अनियमितताको विषयमा अख्तियारले विभागमा छापा मारी त्यससँग सम्बन्धित सबै कागजात नियन्त्रणमा लिएको छ। अख्तियार स्रोतको अनुसार गत बिहीबार विभागमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो।
अख्तियारले ई–पासपोर्टको छपाइका लागि हुने करिब १२ अर्बको टेन्डरमा चासो देखाउँदै तीसँग सम्बन्धित कागजात पनि नियन्त्रणमा लिएको हो। साथै यसअघि राहदानी विभागले २० लाख ई–पासपोर्ट छपाइका लागि छनोट गरेको आइडिमिया कम्पनीसँग पटक–पटक गरी ३१ लाख विद्युतीय राहदानी भेरिएसनबाट लिँदा आर्थिक हिनामिना गरेको विषयमा अनुसन्धान गर्न पनि सबै कागजात नियन्त्रणमा लिएको हो।

