२०८३, आश्विन २० गते

images

६ महिनामा भित्रियो झन्डै २६ अर्ब विदेशी लगानी, पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण

६ महिनामा भित्रियो झन्डै २६ अर्ब विदेशी लगानी, पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण

शुक्रवार, माघ ४ २०८१०८:३१
शुक्रवार, माघ ४ २०८१०८:३१
  • images

    काठमाडौँ । पछिल्लो ६ महिनामा झन्डै २६ अर्ब विदेशी लगानी (एफडीआई) प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार नेपालमा २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको हो । 

    तथ्यांक अनुसार अघिल्लो आवको सोही समयमा २२ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ बराबरको आएको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गत आवको सोही अवधिको तुलनामा एफडीआई झण्डै साढे ३ अर्ब रुपैयाँले बढेको हो । 

    पछिल्लो समय प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता नेपालको पर्यटन र सेवामुलक क्षेत्रमा खासगरी आकर्षित हुँदै आएको छ । सोहीअनुसार यसवर्ष पनि यी दुई क्षेत्रमा उल्लेख्य रुपमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता आएको उद्योग विभागले जानकारी दिएको छ ।

    विभागका अनुसार चालु आवको पहिलो ६ महिनामा नेपालमा पर्यटनमुलक क्षेत्रमा सबैभन्दा बढी अर्थात १६ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो नेपालमा चालु आवमा आएको कुल प्रतिवद्धताको ६६ प्रतिशत हो । यस्तै धेरै लगानी प्रतिवद्धता आउने दोस्रो क्षेत्र भने सेवाक्षेत्र छ । यो क्षेत्रमा पनि ६ महिनामा ५ अर्ब १५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । यो कुल लगानी प्रतिवद्धताको २० प्रतिशत हो ।

    चालु आवमा आएको कुल लगानी प्रतिवद्धता विभिन्न ३ सय ५४ परियोजनाका लागि आएको हो । जसमा सबैभन्दा बढी परियोजना पनि पर्यटन र सेवामुलक क्षेत्रकै छन् । पछिल्लो ६ महिनामा यी दुई क्षेत्रका मात्रै २ सय २ परियोजनाहरु दर्ता भएका छन् । यो कुल परियोजनाको ५७ प्रतिशत हुन आउँछ ।

    चालु आवको पहिलो ६ महिनामा नेपालमा विदेशी लगानीका सूचना प्रविधि क्षेत्रका परियोजनाहरु भने उल्लेख्य बढेको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सूचना प्रविधि क्षेत्रमा १ सय १९ परियोजना नेपालमा दर्ता भएका छन् । यो कुल परियोजनाको ३४ प्रतिशत हुन आउँछ । 

    तर, गत आवको यहि अवधिमा सूचना प्रविधिका जम्मा ७ परियोजना अर्थात कुल परियोजनाका ३ प्रतिशतमात्रै दर्ता भएका थिए । यद्यपि परियोजना उल्लेख्य भएपनि चालु आवको ६ महिनामा यो क्षेत्रका परियोजनामार्फत जम्मा ७४ करोड रुपैयाँ बराबरको मात्रै विदेशी लगानी प्रतिवद्धता आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend