काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बजेट अभावकै कारण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नरोकिँने बताएका छन् ।
आज जिल्ला खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष दीपक थापाको नेतृत्वमा गएको खेलाडीसहितको टोलीले पेस गरेको ज्ञापनपत्र बुझ्दै उनले पालिकास्तरमा उक्त प्रतियोगिता नरोकिने बताएका हुन् ।
स्थानीय तहबाटै राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष हँुदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बजेट कटौती भएको विषयमा गम्भीर चासो राख्दै थापाको टोलीले प्रतियोगिता पुनःसञ्चालनको माग गर्दै आज मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो ।
त्यसअवसरमा मन्त्री श्रेष्ठले भने, ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बजेट अभावमा रोकिनु हँुदैन । यो प्रतियोगिता प्रत्येक पालिकाले हरेक वर्ष आफ्नै बजेटमा गर्नुपर्ने गरी कानुन संशोधनको पहल गरिरहेको छु ।’
उनले हालै बङ्गलादेशमा सम्पन्न अण्डर‐१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा सहभागी भई देशलाई पदक दिलाउन सफल खेलाडीलाई बधाइ दिँदै आगामी दिनमा देशको नाम उच्च राख्न अभिपे्ररित गरे ।
सरकारले यसअघि हरेक वर्ष पालिकालाई नगद एक लाख रुपैयाँ बजेट पठाएर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै आएकोमा यसवर्ष उक्त बजेट काटिएकाले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको समितिका निवर्तमान् अध्यक्ष थापाले बताए ।
‘हामी मात्रै होइनाँै, यतिखेर सम्पूर्ण खेलप्रेमी चिन्तामा छन् । प्रतियोगिताको बजेट काटिएपछि पालिकास्तरबाट खेलतर्फ अगाडि बढेका खेलाडीको उन्नयन नै रोकिने भयो, यसले खेलाडी उत्पादन नै रोकिने अवस्था छ । त्यसैले राज्यले पालिकालाई बजेट पठाएर वा वैकल्पिक ब्यबस्था गरेर भए पनि प्रतियोगिता रोकिनु हुँदैन भन्ने हाम्रो माग हो’, उनले भने ।
मन्त्रीसँगको भेटपछि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुनःसञ्चालन हुनेमा आफूहरु विश्वस्त रहेको र सरकारले यो विषयलाई गम्भीर रुपमा लिन आग्रह गरिएको थापाले बताए ।

