काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक लगायतका कम्पनीलाई नेपालमा दर्ता गर्न आग्रह गरेको छ ।
मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन आग्रह गरेको हो । मन्त्रालयले सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम त्यस्ता कम्पनीलाई नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्न समेत आग्रह गरेको हो ।
निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल कम्पनी सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने उल्लेख छ । यस्तै, दफा ६ मा नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ ।
उक्त निर्देशिका बमोजिम हालसम्म नेपालमा भाइबर र टिकटक मात्रै नेपालमा दर्ता भएका छन् । हाल फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, टिकटक, युट्युबलगायत विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सञ्चालनमा छन् ।
पटक पटकको आग्रहलाई समेत वेवास्ता गरेपछि मन्त्रालयले बाध्य भएर सूचना प्रकाशन गर्नुपरेको जनाएको छ । यसअघि नै मेटाका आधिकारीक व्यक्तिले दर्ताका लागि चासो देखाएपछि मन्त्रालय मौन बसेको थियो । तर, चासो देखाएको लामो समयसम्म पनि दर्ताका प्रक्रिया सुरु नभएपछि मन्त्रालयले पत्र सार्वजनिक गर्दै दर्ताका लागि प्रेसर गरेको हो ।
निर्देशिका अनुसार दर्ता नहुने सामाजिक सञ्जाल कम्पनीलाई मन्त्रालयले प्रतिबन्ध लगाउन सक्ने सूचनामा उल्लेख छ ।
यसबाहेक सामाजिक सञ्जाल कम्पनीले नेपालको पयर्टन प्रवर्धनले, सुरक्षा तथा डिजिटल लिट्रेसीको प्रवर्धन एवं कन्टेन्ट फिल्टर एवं मोडरेसनका लागि प्रविधिसमेत अँगाल्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
०८१ माघ १५ मा राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जालको व्यवस्था गर्न बनेको विधेयकमा पनि सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्न विभिन्न व्यवस्था समेटेको छ । यसबीच मन्त्रालयले यस्तो सूचना जारी गरेको हो ।
नेपालमा दर्ता भए भाइबर र टिकटक, फेसबुकले के गर्ला ?

