२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • धनगढीमाई नगरपालिकाले तिरेन कृषि मिटरको बक्यौता,...

धनगढीमाई नगरपालिकाले तिरेन कृषि मिटरको बक्यौता, गहुँ सिंचाई गर्ने बेला प्राधिकरणले काट्यो बिजुली

धनगढीमाई नगरपालिकाले तिरेन कृषि मिटरको बक्यौता, गहुँ सिंचाई गर्ने बेला प्राधिकरणले काट्यो बिजुली

बुधवार, माघ २३ २०८१०४:०८
बुधवार, माघ २३ २०८१०४:०८
  • images

    काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिकाले यहाँका किसानले प्रयोग गरेका कृषि मिटरको विद्युत महशुल समयमा नबुझाउँदा नेपाल विद्युत प्राधिकरणले लाइन काट्न सुरु गरेको छ । गहुँ सिंचाई गर्ने मुख्य समयमा कृषि मिटरको लाइने काटिएछि किसान समस्यामा परेका छन् । 

    नगरपालिकाले दुई वर्षअघिदेखि नगरका किसानको विद्युत महशुल तिर्ने जिम्मा लिएको थियो । तर, लामो समयदेखि पालिकाले महशुल नतिरेपछि बाध्य भएर ठूला मिटरको लाइन काट्न सुरु गरिएको नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख अवधेश गुप्ताले बताए । 

    “हामीले अहिले तीनओटा ठुला कृषि मिटरको लाइन काटेका छौँ । नगरको सम्पूर्ण कृषि मिटरको बाँकी बक्यौता करोड भन्दा माथि छ । महशुल उठाउनको लागि लाइन काट्नुको विकल्प हामीसँग छैन, उनले भने ।”

    सिंचाई मिटरको लाईन काटिँदा वडा नं ८ का सयौं किसान मर्कामा परेका छन् । “किसानले लगाएको गहुँमा सिंचाई गर्नु पर्ने समयमा विद्युतको लाईन काटियो । अहिले सिंचाइँ गर्न समस्या भईरहेको छ”, स्थानीय किसान योगेश सिंहले भने, “नगरपालिकाले विद्युतको महशुल तिर्न सक्दैन भने जिम्मा लिनु हुन्न थियो । विनाकारण किसानले दुःख पाईरहेका छन् ।”

    उनले यहाँ रहेको सामुहिक कृषि सिंचाई मिटरको दुई हजार दुई सय रुपैयाँ महशुल पुगेपछि प्राधिकरणले लाईन काटेको जानकारी दिए । उनले भने, “पालिकाले जिम्मा नलिएको भए हामी नियमित रुपमा महशुल बुझाउँथ्यौं । अहिले २२ हजार महशुलमात्र हैन, त्यसमा लाग्ने जरिवाना र पुनः जडान खर्च समेत किसानले बेहोर्नु पर्ने अवस्था आयो ।” एउटै मोटरले यस क्षेत्रका ५० विगहाभन्दा धेरै जमिन सिंचाई गर्दै आइरहेका छन् ।

    समयमा विद्युतको महशुल नबुझाउँझा किसानमात्र हैन पालिका पनि आर्थिक मारमा परेको नगर कृषि संयोजन समितिका संयोजक समेत रहेका वडा नम्वर १ का अध्यक्ष सूर्यनारायण यादवले बताए ।

    “पालिकाले किसानको विद्युत महशुल तिर्ने जिम्मा लिएपछि समयमा तिर्नु पर्ने हो । समयमा महशुल नतिर्दा जरिवाना बेहोर्नु पर्ने अवस्था भएको छ । त्यसोहुँदा नगरले विनियोजन गरेको बजेटभन्दा महशुल रकम धेरै उठेकोले शुल्क बुझाउन समस्या भएको हो ।”अध्यक्ष यादवले पालिकाले चालु आर्थिक वर्षमा कृषि विद्युत महशुल बुझाउन ४५ लाख विनियोजन गरेको छ । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा पालिकाले २० लाख रुपैयाँ विद्युत प्राधिकरणमा बुझाएको थियो ।

    विनियोजित बजेट र उठेको महशुल रकमको तालमेल नमिल्दा समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्गले बताए । “नगरसभाले योजना बनाएरमात्र भएन, त्यसमा कति बजेट विनियोजन भएको छ भन्ने मुख्य कुरा हुन्छ । बजेट र भुक्तानी गर्नुपर्ने महशुलको तालमेल मिलिरहेको छैन । आजै बस्ने कार्यपालिका बैठकमा यस विषयमा छलफल गरि निकास निस्कन्छ”, उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend