काठमाडौँ । झट्ट हेर्दा केवलकार जस्तो देखिने पोडवे स्ट्रीङ टेक्नोलोजीमा आधारित तारमा गुड्ने माइक्रो रेल प्रविधि हो ।
केबलकारमा रोपवे सिष्टम लागु गरिएको हुन्छ । जसको रोपमा क्याविन गोन्डलालाई फिक्स गरेर राखिएको हुन्छ, त्यो रोप तन्काइएको हुन्छ । रोप हिडेपछि गोन्डला अथवा क्याविन पनि हिड्छ, त्यसबाट मुभमेन्ट हुन्छ ।
पोडवे भनेको रेल प्रविधि हो । अहिलेको रेल हामीले सतहमा हिडिराखेको अथवा एलिभेटर ट्रयाकमा पनि हिडिराखेको देख्छाँै । त्यो पनि पोल उठाउने हो, पोलबाट सर्पोट दिएर त्यहाँ दुईवटा रेलको लिग नै बनाउने हो । त्यो भन्दा माथि सर्पाेटका लागि स्ट्रीङ हुन्छ । त्यहाँ केलवकारमा बनाइने गोन्डला खालको पोड हुन्छ । त्यो पोडमा स्टीलको पाङ्ग्रा राखिएको हुन्छ, त्यो पाङ्ग्रा रेलमा गुडेर मुभमेन्ट हुन्छ ।
म दुबई जाँदा पोडवेमा चढेको (प्रयोग गरेको भएर) पनि यसको इन्जिनियरिङ हेर्दा प्राविधिक रुपमा ठिक छ भन्ने लाग्यो । ४ सय मिटरको दूरीमा भएपनि आफैं चढेको भएर मलाई यो प्रविधिको अलिकति अध्ययन गरौँ भन्ने लागेको हो ।
रेल बनाउन अहिले धेरै मंहगो पनि छ । महँगो मात्र नभएर रेल बनाउन हामीकहाँ पर्याप्त स्थान पनि छैन । चीन तथा भियतनाममा जानुभयो भने सबै जग्गा राज्यको हुन्छ, त्यहाँ जग्गा अतिक्रमणको समस्या हुँदैन ।
तर, नेपालमा सबै निजी क्षेत्रको जग्गा छ । भोलि त्यहाँ रेल बनाउन पर्याे भने हामीसँग जग्गा छैन, त्यही भएर सडकभन्दा माथिको भागलाई समेत प्रयोग गर्न सकिने प्रविधि भएको हुँदा पोडवेलाई अध्ययन गर्नुपर्छ । त्यही अनुसार नेपाल सरकारलाई हामीले अनुरोध गर्यौँ । जसअनुसार,सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा पनि केही स्थानको सम्भाव्यता अध्ययन गर्ने कुरा उल्लेख गरेको छ ।
अहिलेको अवस्थामा नेपालमा पोडवे बनाउनु ठिक बेठिकभन्दा पनि एउटा प्राविधिक अध्ययन हुनुपर्छ, यसको आर्थिक, वित्तीय पाटो, सामाजिक तथा वातावरणीय पाटोको अध्ययन हुनुपर्छ । अध्ययनपछि यो ठिक वा बेठिक भन्ने जे निष्कर्ष निस्कन्छ, त्यहीअनुसार कार्यान्वयन गर्नुपर्छ ।
एक किलोमिटर मेट्रोरेल बनाउन १२ देखि १३ अर्ब रुपैयाँ खर्च लाग्ने रहेछ । यो खर्च सन् २०१२ मा नेपाल सरकारले काठमाडौँ उपत्यकाभित्र ७७ किलोमिटरको दुरीमा मेट्रोरेल बनाउने भनेर नेटवर्क बनाउँदा निकालेको तथ्यांक हो । त्यतिखेरै सतहमा गुड्ने मेट्रोरेलको प्रतिकिलोमिटर ७ अर्ब रुपैयाँ थियो भने अन्डरग्राउण्ड गर्दा १० अर्ब रुपैयाँ प्रतिकिलोमिटर खर्च लाग्ने अनुमान गरिएको थियो ।
आज १२ वर्षको बीचमा त्यही रुपैयाँलाई आधार बनाएर हिसाब गर्दा सरदर प्रतिकिलोमिटर १२ देखि १४ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गर्न सकिन्छ ।
अब कुरा गराँै पोडवेको । पोडवेका प्रतिनिधिहरू प्रति किलोमिटर ५० करोड रुपैयाँमा बन्छ भन्ने गर्नुभएको छ । एक किलोमिटर मेट्रोरेल बन्ने पैसाले २४ किलोमिटरको पोडवे बन्ने रहेछ । यो हिसाबले कम खर्च र छोटो समयमा पोडवे बन्छ कि भन्ने देखिन्छ ।
हाम्रो यातायात प्रणालीमा यस्तो समस्या छ । अहिलेपनि बाढी पहिरोका कारण धेरैको ज्यान गइरहेको छ । त्यो हिसाबले पोडवे पूर्वाधार सञ्चालन हुँदा केही भएपनि सुरक्षित भइन्छ । सतहमा नभएर माथि पोल मार्फत गुड्ने भएका कारण यो धेरै सुरक्षित हुन्छ भन्ने मेरो अध्ययन तथा पोडवेमा चढेको आधारमा मैले भनेको हुँ । विस्तृत अध्ययन गरौँ भन्नुको मुख्य कारण पनि यही हो ।
काठमाडौँ उपत्यकाकै कुरा गरौँ । प्रतिदिन १० प्रतिशतका दरले सवारीसाधनको वृृद्धि भएको छ । हाम्रो सडक संरचनाले यो भिड थेग्दैन । सवारी ज्यादा भएको छ, सडक चौडा गरौँ, विस्तार गरौँ भन्न सक्ने अवस्था पनि छैन । हामीले कुनै न कुनै तरिकाबाट समस्याको सहजीकरणा गर्नुछ । हामीसँग कि मेट्रोरेलमा जानु कि पोडवे सञ्चालन गर्नु बाहेक अन्य विकल्प म देख्दिन ।
धेरै मान्छेले सोच्छन्, पोडवेको यस्तो धेरै सम्भावना भएको भए अरु देशले किन चलाएनन् । अहिले हेर्दा ४ सय मिटरको दुबईमा सञ्चालनमा छ, पुनः साढे २ किलोमिटर विस्तार गरेर सञ्चालन गरिरहेका छन् । दुबईमा विस्तार गर्दै गरेको, आफू चढेको भएर पनि नेपालको जस्तो भौगोलिक विकटता भएको देशमा पोडवेको सम्भावना हुनसक्छ भनेको हुँ । त्यही आधारमा नै मैले सम्भाब्यताको अध्ययन गरौँ भन्दै आएको हुँ ।
अरुले नै बनाइसकेपछि हामीले बनाउनुपर्छ भन्ने पनि छैन । सम्भाव्यता अध्ययन गर्दा नेपालमा उपयोगी बन्नसक्छ भने हामी बनाऔँ । अरु देशका मानिसहरू हामीले सञ्चालन गरेको पोडवेमा सम्भाब्यता अध्ययन गर्न तथा हेर्न आउन पनि सक्छन् नि भन्ने हो । अरुले गरेनन् हामीले किन बनाउने भन्दा पनि, हाम्रो आवश्यकता के हो भन्ने तर्फ ध्यान दिनुपर्छ ।
अब भनौँन, जर्मनीलाई पोडवे किन चाहियो । त्यहाँ राम्रो बस सेवा छ, मेट्रो रेल सेवा छ । उसले त सबै तयारी गरिसकेको छ, यसलाइ पोडवे नचाहिन पनि सक्छ । जर्मनीले बनाएन भनेर हामीलाई आवश्यक पर्न पनि सक्छन नी ।
पक्कै पनि सरकारले पोडवेमा नेपालको राम्रो सम्भावना देखेर नै बजेटमा सम्भाब्यता अध्ययनको कुरा राखेको हुनुपर्छ । त्यही भएर यसको राम्रो पक्षलाई लिएर हामीले अध्ययन गर्नुपर्छ ।
हामीले जति गरेपनि मेट्रो रेल बनाउन सकिन्छ भन्ने कुरा कार्यान्वयनमा गाह्रो छ । कुरामात्र गर्न जति पनि सकिन्छ, तर त्यसको कार्यान्वयनको पाटो अहिले उत्तिकै अप्ठ्यारो छ । सामान्यतया ३० लाखभन्दा बढी जनसंख्या बढी भएको शहरलाई विकाशित बनाउने हो भने मेट्रोरेल चाहिन्छ भनिन्छ् ।
एउटा फुटपाथ बनाउन तथा भएका फुटपाथलाई विस्तार गर्न त लडाई गर्नुपर्ने अवस्था भएको देशमा हामीले मेट्रोरेलको सपना साकार बनाउन धेरै संघर्ष गर्नुपर्छ । मेट्रो बन्छ भन्ने कुरा हाम्रो परिकल्पना भन्दा बाहिरको कुरा भइसक्यो । म यसैमा लागेको १२÷१३ वर्ष भइसक्यो । अहिलेसम्म त्यसको उपलब्धी शून्य छ, केही काम भएकै छैन । त्यही भएर आएको नयाँ प्रविधिको अवलम्बन गर्नुपर्छ ।
मेट्रोको पैसाको कुरा मात्र होइन । मानौँ १० किलोमिटर मेट्रोरेल बनाउन १५ वर्ष लाग्छ । एकैपटक ठूलो रकम खर्च हुने पनि होइन, त्यो पैसा १५ वर्षसम्म खर्च हुँदा सरकारलाई त्यति ठूलो भार नपर्ला । तर, भोलि अपरेशन गर्न त्यति नै खर्च लाग्छ, सञ्चालन खर्च त्यति नै लाग्छ ।
एउटा मेट्रोरेल बनाउन १० वर्षभन्दा बढी समय लाग्छ । हाम्रो किसिमले काम गर्ने हो भने त २० वर्षमा पनि सकिदैन । त्यही भएर अरु देशलाई जरुरत नभएपनि नयाँ नयाँ प्रविधि अनुसार चल्न हाम्रो देशलाई जरुरत छ ।
आजको दिनमा हामीलाई कम खर्च तथा छोटो समयमा तयारी हुने संरचना आवश्यक परेको छ । कुनै निजी क्षेत्रले म बनाउँछु भनेर लागिपर्छ भने त्यसलाई रोक्नु उचित होइन । निजी क्षेत्र सबै ठग्नै आएका हुन्, सबै कमाउन आएका हुन् भन्नु हुँदैन ।
जस्तै, हिजोको दिनमा केबलकार आउँदा यो ठग्नै आएको हो भनिएको थियो । भोलि यसको जोखिम हुन्छ, सुरक्षित हुँदैन भनिएको थियो, तर अहिले देशका धेरै स्थानमा केलबकार सञ्चालन भइरहेका छन् । प्राविधिक रुपमा केही दुर्घटना हुन्छन्, शतप्रतिशत सुरक्षित कहाँ छ र ? यस्ता अवसरहरुलाई विकल्पका रुपमा हेर्नुपर्छ ।
अध्ययन गरौँ, अध्ययनले ठिक देखायो भने ठिक नभए यो च्याप्टर नै क्लोज गरौँ न । २० किलोमिटर पोडवे बनाउन डेढ वर्षमा सकिन्छ भनिएको छ । यसमा त्यस्तो ठूलो प्राविधिक टेक्नोलोजीको आवश्यकता पर्दैन । एउटा डिस्यान्समा पोल गाड्ने हो, पोल माथि रेल विच्छ्याउने हो, त्यहाँ माथि स्ट्रीङ राख्ने हो । पोड रेडिमेड बनेको हुन्छ, त्यही जोडेर गुडाउने हो ।
निर्माण सुरु भएको डेढ वर्षमा २० किलोमिटरमा पोडवे निर्माण गर्न सकिन्छ भन्दै गर्दा प्रति किलोमिटर खर्च ५० करोेड रुपैयाँ मात्र हुने भनिएको छ । यसका लागि छोटो समय, कम खर्च र जमिन पनि कम लाग्दा बनाउन सकिन्छ भन्ने मेरो अनुमान हो ।
अहिले धेरैले सोध्छन् पोडवे कहाँ कहाँ सञ्चालनमा छन् भनेर । बेलारुस र दुबईमा हाल सञ्चालित अवस्थामा छन् । नेपालमा बन्यो भने मानिसहरु त्यही हेर्न तथा अध्ययन गर्न आउँछन् भन्ने तिर पनि हामीले सोच्नुपर्छ ।
सामान्यतया पोडवेको पोल २ किलोमिटरको दुरीमा राख्ने गरिएको छ । पोडवेका प्रतिनिधिले भनेअनुसार २ जनादेखि ४८ टनसम्म बोक्न सक्ने क्षमताको हुन्छ ।
पोडवेले प्यासेन्जरदेखि कार्गाेसम्म बोक्न सक्छ । यस्तै, पोडवेमा एआइ प्रविधि जडान भएका कारण रातको समयमा समेत प्रयोग गर्न सकिन्छ । पोडवे १४० किलोमिटर प्रतिघण्टाको गतिमा हिड्छ ।
एउटा पोडमा ४ वटा मोटर रहेको हुन्छ । ३ वटा विग्रिए पनि एउटाले स्टेसनसम्मै पु¥याउँछ । बीचमै लाइन गए १०० किलोमिटरसम्मको ब्याकअपको व्यवस्था हुन्छ ।
सार्वजनिक यातायात विज्ञ आशिष गजुरेलसँगको कुराकानीमा आधारित ।

