काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पोर्चुगलका पर्यटन प्रवद्र्धकको जिम्मेवारी खोसेको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै पर्यटन प्रवद्र्धक रमेशराज बास्तोलाको पद खोसिएको जनाएको हो ।
पर्यटन मन्त्रालयले २०८० को फागुन १३ गते उनलाई उक्त जिम्मेवारी दिएको थियो । ‘पर्यटक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम फागुन २५ गते लिखित स्पष्टीकरण सोधिकोमा निजले पेश गरेको स्पष्टीकरणको सन्तोषजनक नदेखिएकाले उक्त कार्यविधिको दफा ५ बमोजिम उनलाई सो जिम्मेवारीबाट हटाइएको व्यहोरा अनुरोध छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
के हो विवाद ?
पर्यटन दूत बास्तोलाले आफ्नो फेसबुक पेजमा ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यवद्धता’ विषयक पत्र सार्वजनिक गरेका थिए ।
सरकारी लेटरप्याडमै ‘श्री ५ महाराजाधिराज’ लेखेर उनले आफ्नो पदीय जिम्मेवारी विपरीत कार्य गर्नुका साथै सरकारी लोगो तथा लेटरप्याडको समेत दुरुपयोग गरेको भन्दै मन्त्रालयले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले फागुन २५ गते पर्यटन दूत बास्तोलालाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।
मन्त्रालयले स्पष्टीकरण सोधेपछि बास्तोलाले आक्रोश व्यक्त गर्दै आफूलाई कुनै पद नचाहिएको भन्दै त्यही नै आफ्नो स्पष्टीकरण भएको समेत बताएका थिए । उनले आफूले केही सेवा सुविधा नलिएको पनि उल्लेख गरेका छन् ।

