काठमाडौँ । प्रतिनिधिसभाको आज अपराह्न ११ः०० बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत हुने भएको छ ।
संसद् सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत हुने भएको छ ।
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबाट ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत हुने छ ।
गृहमन्त्री रमेश लेखकबाट ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव हुने कार्यसूची छ ।

