काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम छनोट (सर्टलिष्ट) गरेको छ ।
सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन दिएका १० जनामध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरेको हो । समितिले आईतबार सार्वजनिक गरेको सूचना अनुसार चुडामणी चापागाई, नारद कुमार लईंटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल छनोटमा परेका छन् ।
उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभवको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनोट गरिएको सीईओ सिफारिस समितिले जनाएको छ । साथै छनोट भएका उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि चैत ६ गते अर्थमन्त्रालयमा बोलाइएको छ ।
व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । नेप्सेको सीईओ बन्न १० जनाले आवेदन दिएका थिए ।
सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागनु १२ गतेदेखि फागुन २५ गतेसम्म आवेदन आह्वान गरेको थियो । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले संयोजक सहसचिव सेवन्तक पोखरेललाई बनाएको छ भने सदस्यहरूमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा। खोमराज खरेल छन् ।
कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्स सीईओविहीन छ । कामु सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँलले सम्हाल्दै आएका छन् ।

