काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार युद्ध घोषणा गरेपछि कच्चा तेलको अन्तर्राष्ट्रिय बजारमा मूल्य तीव्र रूपमा घटेको छ। ब्रेन्ट क्रुडको मूल्य घटेर ६५ डलर प्रति ब्यारेल पुगेको छ, जुन सन् २०२१ को मे महिनापछिको सबैभन्दा कम मूल्य हो। तेल मूल्यमा आएको यो गिरावटको मुख्य कारण राष्ट्रपति ट्रम्पले सबै व्यापारिक साझेदारहरूलाई १० प्रतिशत भन्सार लगाउने निर्णय रहेको बताइएको छ।
ट्रम्प प्रशासनले चीनमाथि ३४ प्रतिशत, भारतमाथि २७ प्रतिशत र युरोपियन युनियनमाथि २० प्रतिशत भन्सार शुल्क लगाएको छ। अमेरिका निकट राष्ट्रहरूमाथि पनि उच्च भन्सार लगाइएकाले अन्तर्राष्ट्रिय व्यापार प्रणाली तनावमा परेको छ।
तेल निर्यातक राष्ट्रहरूको संगठन ओपेक प्लसले मे महिनादेखि लागू हुने गरी दैनिक ४ लाख ११ हजार ब्यारेल थप उत्पादन गर्ने निर्णय गरेको छ। यसअघि दैनिक १ लाख २२ हजार ब्यारेलले मात्रै बढाउने भनिएको थियो। उत्पादन वृद्धि भएपछि बजारमा आपूर्ति बढेर मूल्य घट्ने संकेत देखिएको छ।
ट्रम्पले चीनमाथि थप ३४ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेपछि चीनले पनि अमेरिकी वस्तुहरूमा त्यति नै प्रतिशत भन्सार थपेको छ। दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध चर्किँदै जाँदा वैश्विक बजारमा आशंका र अनिश्चितता बढेको छ।
यसले गर्दा तेलको माग घट्ने अनुमान गरिँदै आएको छ, जसका कारण बिहीबार र शुक्रबार मात्र तेलको मूल्य १० प्रतिशतभन्दा बढीले घटेको हो। शुक्रबार बजार बन्द हुँदा ब्रेन्ट क्रुडको मूल्य ६५।९५ डलरमा रोकिएको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार गरिएको)

