काठमाडौं । सरकारले तीन वटा प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएको एक मन्त्रीले जानकारी दिए । यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए ।
यस्तै सरकारले १८ देशमा राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । भारतका लागि नेपाली राजदूतमा भने डा. शंकर शर्मालाई नै निरन्तरता दिइएको छ भने अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्श रेग्मीलाई नियुक्तिका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।
बैठकले चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय पनि गरेको छ ।

