काठमाडौँ । सगरमाथा आधार शिविरदेखि अन्य हिमालका आधार शिविरमा बीना अनुमति विदेशी इन्टरनेट कम्पनीले सेवा दिदैँ आएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै बीना अनुमति इन्टरनेट सेवा प्रवाह नगर्न आग्रह गरेको हो ।
‘नेपालका केही स्थानहरु (अग्ला हिमालहरुको आधार शिविर क्षेत्रहरुमा समेत) हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरुले अनाधिकृत रुपमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीको स्याटेलाइट (भू उपग्रह) इन्टरनेट सेवा उपलब्ध गराउन गरेको र प्रयोग गर्ने गराउने गरेको भन्ने बुझिन आएको तथा उक्त कार्य दूरसञ्चार ऐन, २०५३ को दफा २१ को प्रावधान विपरित भएकोले यस्तो कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराईन्छ’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।
यस्तै, प्राधिकरणले सरकारको अनुमति नलिई वा प्राधिकरणबाट अनुमतिपत्र प्राप्न नगरी दूरसञ्चार सेवा उपलब्ध गराईरहेको र प्रयोग गरिरहेको पाईएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुन बमोजिम कारवाही हुने समेत जनाएको छ ।
सगरमाथा लगायत अन्य लग्गा हिमालको आधार शिविरमा धनाढ्य इलन मस्कको स्टारलिंक इन्टरनेट अवैध रुपमा सञ्चालन हुँदै आएको थियो । अबैध रुपमा स्टारलिंकको इन्टरनेट आधार शिविरमा चल्न थालेको भन्दै प्राधिकरणमा गुनासो आएपछि प्राधिकरणले कारवाही गर्ने चेतावनी दिएको हो ।

