काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का वरिष्ठ क्यापटेन श्रवण रिजालले राजीनामा दिएका छन् । विगत २८ वर्षदेखि निगममा कार्यरत क्यापटेन रिजालले निगमभित्रको बेथिति र आफूले नगरेको गल्तीमा समेत दुःख दिने काम भएको भन्दै राजीनामा दिएको बुझिएको छ ।
उनी परीक्षक पाइलट (डीसीपी–ए) को लाइसेन्ससमेत प्राप्त पाइलट हुन् । रिजालले सन् १९९७ देखि नेपाल वायुसेवा निगमको जहाज उडाउँदै आएका थिए । उनले निगममा सुरुमा ट्वीनअटर जहाज उडाएका थिए । २००९ सम्म ट्वीनअटर जहाज उडाएका उनले त्यसयता २०१५ सम्म बोइङ जहाज उडाएका थि ए। २०१५ देखि २०१८ सम्म एयरबस ३२० जहाज उडाएका उनले २०१८ पछि अहिलेसम्म ए३३० वाइडबडी जहाज उडाउँदै आएका थिए ।
पाइलट रिजाजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार आरोपित बनाएर विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । गत मंसिरमा मात्रै उनले विशेष अदालतबाट सफाइ पाएका थिए ।
उक्त मुद्दाबाट सफाइ पाएसँगै नेपाली आकाशमा १८ हजार घण्टा उडिसकेका रिजालले नेपाल एयरलाइन्सबाट बिदा लिएका हुन् ।
उनले २०२४ मा निगमको अपरेशन विभाग प्रमुखसमेत भएर काम गरेका थिए। रिजाल ट्वीनअटर जहाज उडानको क्रममा ग्राउन्ड परीक्षकसमेत भएका थिए। उनले बोइङ उडान गर्दा भने पाइलटको मात्रै भूमिकामा जहाज उडान गरेका थिए।
श्रवणका पिता गंगाराम रिजालसमेत नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट थिए । सन् १९६७ मा निगम प्रवेश गरेका गंगारामले २००५ मा निगमबाट अवकाश लिएका थिए । गंगारामसहित उनका ३ भाइ छोराले नै निगममा एकैपटक सेवासमेत दिएका थिए । श्रवणले राजीनामा दिएसँगै अब गंगाराम परिवारका सुवास रिजालमात्रै निगमको सेवामा रहेका छन् ।
गंगारामका जेठा छोरा सुवास अहिले पनि निगमको वाइडबडी ए ३३० जहाज उडान गरिरहेका छन् । सुवास सन् १९८८ देखि निगमको जहाज उडान गरिरहेका छन् । गंगारामका माइला छोरा सुदीप रिजाल हुन् । सुदीपले पनि सन् १९९७ देखि सन् २००४ सम्म निगममा जहाज उडाएका थिए ।

