काठमाडौं । सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्।
अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।
त्यसो त पौडेल गभर्नर बन्ने यसअघि नै सुनिश्चित थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पौडेललाई गभर्नर बनाउने पूर्वसहमति भएको थियो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिएसँगै गत चैत २४ गदेखि केन्द्रीय बैंक गर्भनर बिहीन छ । गभर्नर सिफारिस प्रक्रिया नै अघि नबढेपछि सरकारले २५ चैतदेखि डेपुटी गभर्नर नीलम ढुंगानालाई कायममुकायम जिम्मेवारी दिएको थियो ।
देउवा प्रधानमन्त्री हुँदा डा पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।
चीनबाट इन्जिनियरिङमा स्नातक गरेका पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् । अमेरिकाकै विश्वविद्यालय युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि समेत गरेका छन् । उनले सन् २०१० मा युसी बर्कलीबाट आफ्नो विद्यावारिधि पूरा गरेका हुन् । उनी अर्थशास्त्र र इतिहासमा विशेष दख्खल राख्छन् ।

