काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता घोषणा भएको छ।
सोमबार काठमाडौँमा आयोजित एकता कार्यक्रममा माओवादीको तर्फबाट अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र समाजवादीको तर्फबाट संयोजक गङ्गानारायण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे। यद्यपि प्राविधिक कारणले यसलाई एकता नभइ समायोजन भनेका छन्।
१० वर्षमा चार पार्टी फेरेर फर्किए माओवादीमै
माओवादीसँग समायोजन प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ । १० वर्षमा चारवटा पार्टी फेरेर श्रेष्ठ माओवादीमा फर्किएका हुन् ।
२०७२ सालमा संविधान जारी भएसँगै डा।बाबुराम भट्टराईले माओवादी त्यागेका थिए । उनीसँगै गंगानारायण श्रेष्ठले पनि पार्टी छाडेर नयाँ शक्तिमा लागे । नयाँ शक्ति पार्टीलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा गएकता गरेपछि उनी समाजवादी पार्टी नेपालको नेता बनेका थिए ।
समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी मिलेर जसपा नेपाल बनेको थियो । जसपा नेपालबाट पनि उनी बाबुरामसँगै फुटेर नेपाल समाजवादी पार्टीमा गएका थिए । नेसपाबाट बाबुराम भट्टराईलाई निकालेर महिन्द्र यादव र गंगाले चलाएको उक्त पार्टीबाट पनि उनी महिन्द्रलाई छाडेर अलग्गै समूह लिएर माओवादीमा फर्किएका हुन् ।
माओवादी छाड्दा पोलिटव्युरो सदस्य रहेका श्रेष्ठले फर्किदा सचिव पद पाएका छन् । उनीसहित प्रदेश सभाका २ सांसद पनि माओवादीमा बिलय भएका छन् । उनीहरु गत चुनावमा माओवादीकै चिन्हबाट निर्वाचित भएका थिए ।
त्यस्तै विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीसँग पनि एकता हुने बताइएको छ।

