काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न नसकेपछि भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराएको हो ।
गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले संसद चल्न दिएका छैनन् । बैठक सञ्चालनमा आएको अवरोध हटाउने उद्देश्यले सभामुख देवराज घिमिरेले सत्ता पक्ष र विपक्षी दलहरूलाई सहमतिमा ल्याउने प्रयास गरे पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि बैठक स्थगित गरिएको हो ।
सभामुखले उपसभामुख, प्रमुख सचेतक तथा प्रमुख विपक्षी दलहरूका नेताहरूसँग संयुक्त छलफलसमेत आयोजना गरेका थिए । तर, सहभागी सबै पक्षहरू आफ्ना अडानमा कायम रहँदा सहमति जुट्न सकेन ।

