काठमाडौं । पछिल्लो समय हैजा र डेंगुको संक्रमित तिव्र रुपमा बढि रहेका छन् । डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । तनहुँका संक्रमित पुरुषको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
अन्य रोग समेत भएको व्यक्तिको डेंगु संक्रमणपछि मृत्यु भएको महाशाखाले जनाएको हो। यो अगस्टका पाँच दिनमा देशभर ११७ डेंगी संक्रमित थपिएका छन् ।
जनवरीयता डेंगी संक्रमित हुनेको संख्या दुई हजार ३६५ पुगेकोे छ । यो वर्ष डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।
वाग्मती प्रदेशमा सबैभन्दा धेरै ७४७ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २८७ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६, तनहुँमा ११० जनामा देखिएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संखया १०० भन्दा कम छ ।
मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।
यसैबीच देशभर ३० जनामा हैजाको संक्रमण देखिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)दिएको जानकारीअनुसार हैजाका बिरामीको संख्या बढिरहेका छन् ।
हालसम्म हैजाबाट कसैको पनि मृत्यु भने भएको छैन ।

