काठमाडौँ । अनलाइन ब्यापारको नाममा नेपाल क्यान ग्रुपले करोडौँ रुपैयाँ करछली गरेको पुष्टि भएको छ । राजस्व अनुसन्धान विभागले आइतबार क्यान ग्रुपका सञ्चालक र कर्मचारीमाथि १ अर्ब ३६ करोड ८८ लाख बढीको बिगो र जरिवाना मागसहित उच्च अदालत पाटनमा आज मुद्दा दायर गरेको हो ।
विभागले नेपाल क्यान ग्रुप अन्तर्गत सञ्चालित नेपाल क्यान मुभ प्रालि र त्यसका सञ्चालक सुदिप आचार्यसहित ६ जना सञ्चालक तथा केही कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो ।
राजस्व अनुसन्धान विभागले नेपाल क्यान मुभलगायतका कम्पनीले ठुलो मात्रामा राजस्व छली गरेको अनुमानसहित मिति २०८२ फागुनमा छापा हानेर राजस्व छलीको अनुसन्धान गर्दै आएको थियो । नेपाल क्यान मुभले वास्तविक सेल्स एउटा र राजस्वलाई बुझाउने अर्को हिसाब किताब बनाएर ठुलो मात्रामा राजस्व छली गरेको राजस्व अनुसन्धान विभागले निष्कर्ष निकालेको हो ।
नेपाल क्यान मुभ अन्तर्गत नेपाल क्यान ट्रान्सपोर्ट, नेपाल क्यान प्याकेजिङलगायतका कम्पनीहरू छन् । त्यस मध्येका मुख्य सञ्चालक सुदिप आचार्य र जीवन ज्ञावाली अस्ट्रेलियामा बस्छन् भने नेपाल क्यान मुभका सञ्चालकहरू मनिष प्रसाद आचार्य, गंगाबहादुर थापा तथा डेपुटी सीईओ संगम पौडेल केही समयदेखि विभागकै थुनामा थिए ।
यो मुद्दा राजस्व अनुसन्धान विभागमा महानिर्देशक भएर आएका चण्डीप्रसाद घिमिरेको कार्यकालकै सबै भन्दा ठुलो राजस्व चुहावटको मुद्दा हो ।
नेपाल क्यान मुभले मालवस्तुको आयात र निर्यात गर्न कार्गो सेवा , नेपाल भित्र र विदेशमा कुरियर र डेलिभरी सेवा , लजिस्टिक र गोदाम व्यवस्थापन सेवा , मालवस्तुको थल र जल वायु ढुवानीलगायतका सेवामूलक कामहरू गर्दै आएको छ ।

