काठमाडौं । कोरियाली कम्पनी हुन्डाई मोटर्सका गाडीहरु नेपालमै एसेम्बल (नेपालमै उत्पादन) भएको गत बैशाखमा एक वर्ष पूरा भयो । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप ( लक्ष्मी इन्टरकन्टिनेन्टल) ले नवलपरासीको रामग्राममा स्थापना गरेको अत्याधुनिक एसेम्बली प्लान्ट २०८१ को बैशाख २८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमै गाडी एसेम्बलको औपचारिक उद्घाटन गरेका थिए ।
हुन्डाईले कम्प्याक्ट एसयुभी ‘भेन्यु’ को एउटा भेरियन्टबाट थालेका उत्पादन १ वर्षको अवधिमा ७ वटा पुगेको छ । हाल भेन्यु, क्रेटा र आइटेनका विभिन्न भेरियन्ट उत्पादन हुँदै आएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार मासिक रुपमा ३० वटा भेन्यु उत्पादन गरेर सुरु भएको हुन्डाईको एसेम्बल यात्रा हाल मासिक १५० वटासम्म गाडी उत्पादन हुन थालेको छ । वार्षिक ५ हजार कार उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।
रामग्राम नगरपालिकामा साढे नौ बिघाभन्दा बढी क्षेत्रफलमा हुन्डाई मोटर एसेम्बली प्लान्ट सञ्चालनमा छ । जहाँ १४ हजार वर्गमिटर क्षेत्रफलको भव्य संरचना खडा गरिएको छ । नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी गर्ने दृढताको उदाहरण भएको लक्ष्मी मोटर्स कर्पोरेसन (एलएमसी)ले जनाएको छ । यो एलएमसी लक्ष्मी ग्रुपको सहायक कम्पनी हो ।
कसरी गरिन्छ तयारी ?
कुनै पनि सवारी साधन उत्पादनको प्रक्रिया पाँच चरणपछि पूरा हुन्छ । पहिलो चरणमा प्रेस सप÷स्ट्याम्पिङ हुन्छ । यो भनेको गाडी बनाउन आवश्यक पाटपुर्जाहरू तयार गर्ने हो । दोस्रो चरणमा बडी सप/व्लेडिङ हुन्छ । यो चरणमा कच्चा सामग्रीबाट तयार पारिएको पाटपुर्जालाई जोडिन्छ । तेस्रो भनेको पेन्ट सप । यसमा पाटपुर्जालाई पेन्टिङ अर्थात् रंगाउने काम हुन्छ ।
चौथो चरण एसेम्बली सप भन्ने हुन्छ । यसमा रंगाएको पाटपुर्जाहरूलाई एसेम्बली गरिन्छ र गाडी तयार पारिन्छ । पाँचौं चरणमा टेस्ट लाइन पर्छ । यो भनेको गाडी बजारमा बिक्रीको लागि तयार भए/नभएको परीक्षणहरू हुन्छ । लक्ष्मी मोटर कोर्पोरेसनका अनुसार नेपालमा हुन्डाईको एसेम्बली काम हुने हो । यो भनेको पाँचौं र चौथो चरणमा गरिने कार्य हो । कम्पनीले अहिले कम्प्लिट्ली नकडाउन (सिकेडी) अर्थात् छुट्टाछुट्टै पाटपुर्जा ल्याएर एसेम्बल प्लान्टबाट गाडी तयार गर्छ । नेपालमा तत्काल सम्भव नभएपछि चौथो र पाँचौ चरणका कामहरु मात्रै हुने थपलिया बताउँछन् ।
अत्याधुनिक एसेम्बली प्लान्टमा हुन्डाई मोटर कम्पनी (एचएमसी) का सबै मापदण्डहरूको पालना गर्दै गाडी उत्पादन गर्ने गरेको छ । एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारीसाधनमा सुरक्षा र उच्चतम गुणस्तर सुनिश्चित रहेको उनको भनाई छ । कोरिया, भारत र चीनबाट ल्याईएका पाटपूर्जा जोडेर गाडी तयारी हुने गरेको छ । सबै गरेर एउटा गाडीका लागि ८ हजार पाटपूर्जाहरु हुने उनले बताए ।
‘चारपाँग्रे गाडीका लागि आवश्यक एसेम्बलका पाटपूर्जाहरु छुट्टा छुट्टै आउाछन् । एउटा प्याकेटमा नर्ट आउँछन्, एउटामा ब्याट्री आउँछन् । सबै छुट्टा छुट्टै आउने पाटपूर्जाहरु मिलाएर एउटा सिंगो गाडी बनाउने गरिएको छ,’ उनले भने । अहिले नेपाली बजारमा हुन्डाईका एम्बुलेन्ससहित १२ मोडेलका गाडी उपलब्ध छन्, जसमध्ये कोना र आयोनिक फाइभ विद्युतीय कार हुन् । अहिले नेपालमा हुन्डाईका १६ सोरुम, १९ सेवा केन्द्र र नेपालभर ४५ भन्दा बढी चार्जिङ प्वाइन्ट रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।
सरकारले स्वदेशमै एसेम्बली उद्योग खोल्नेलाई प्रोत्साहन गर्ने नीति लिएपछि व्यवसायीहरू उत्साहित भएका छन् । सिजी होल्डिङ्सले पनि मारुती–सुजुकी गाडी एसेम्बल गर्न उद्योग दर्ता गरिसकेको छ । तर हालसम्म सञ्चालनमा आएको छैन् । चारपाँग्रे पछि हाल विभिन्न कम्पनीले दुईपाँग्रे बाइक तथा स्कुटर उत्पादन गर्दै आएका छन् ।
सरकारले स्वदेशमै गाडी एसेम्बल गर्ने उद्योगलाई सिकेडी आयात गर्दा भन्सारमा २५ प्रतिशत, अन्तःशुल्कमा ५० प्रतिशत र आयकरमा पनि छुट दिएको छ । बजेटमार्फत नै करमा सहुलियत दिएपछि स्वदेशमै सवारीसाधन एसेम्बल गर्ने माहोल बनेको हो । लक्ष्मी ग्रुपले स्वदेशमै हुन्डाई गाडी एसेम्बल गर्न ०७६ मा उद्योग दर्ता गरेको थियो । कोरोना महामारी र लगत्तै सिर्जना भएको मन्दीका कारण प्लान्ट सञ्चालनमा ल्याउन ढिलाइ भएको थियो । अहिले हुन्डाई नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने एक मात्र कम्पनी बनेको छ ।
लक्ष्मी समूहले कोरियाली लगानी बिनै प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरेको हो । यसअघि नेपालमा गोल्छा समूहले मुस्ता म्याक्स नामक सवारीको उत्पादन सुरु गरेको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सवारी प्रयोग गरेपछि चर्चित बनेको सवारी विभिन्न नीतिगत झन्झटका कारण बन्द भएको थियो ।
सीएनएन खबरको म्यागेजिनबाट साभार

