कुराको थालनी गरौं गत असोज महिना र त्यसभन्दा अघि देशमा भएका ठूला बाढी पहिरो र सवारीसाधन तथा आकाशमा भएका विमान दुर्घटना जसमध्ये दुई–दुइटा बस त्रिशुली नदीमा बिलय भए त्यसमा सवार करिब ५८ मध्ये एकतिहाइ शव तल गण्डक नहरसम्म फेला परे बाँकीले त कुशलाई नै शव मानी दाहसंस्कार सके । विमान दुर्घटनामा त्यस्तै नियति दोहोरियो जसमा एकजना पाइलट भाग्यले बाँचे बाँकीको ज्यान अकालमै गयो । त्यस्तै हेलिकोप्टर दुर्घटनामा चिनियाँ नागरिकसहित नेपाली पाइलटले ज्यान गुमाए । त्यस्तै भारतीय तिर्थयात्री बोकेको बस आँबुखैरेनीमा दुर्घटना हुँदा बसमा सवार भारतीय तिर्थयात्री चालक सहचालक गरि २७ जनाले मस्र्यांग्दी नदी किनारमा आफ्नो इहलिला समाप्त पारे ।
त्यस्तै बझाङको दुर्घटना, जाजरकोट, धनकुटा लगायत देशको मुटु गट्ठाघरमै उत्तम कोइरालाको ज्यान गएपछि देशव्यापीरुपमा एउटा बहस नै सार्वजनिक सञ्चार र सामाजिक सञ्जालमा सुरु भयो । असुरक्षित सवारी हो कि सडक ? अवश्य, हाम्रा सडक र सवारी दुवै सुरक्षित छैनन् । हुन त म विज्ञ हैन । तर, विज्ञहरुको कुरालाई आधार मान्दा सवारी साधन दुईपाँग्रे मोटरसाइकल र स्कुटर आदी अति नै असुरक्षित छन् । तर, सार्वजनिक यातायातको सहज पहुँच नहुनाले यसको प्रयोग बढ्दो संख्यामा छ । यस्तै, सार्वजनिक यातायातको रुपमा सहरभित्र सडक साँघुरो हुँदै गइरहेको छ भने यातायातका साधन थोत्रा पुराना र समयमा मर्मतसम्भार नगरिएका र एउटै रुटमा चल्ने यातायातविच व्यस्त समयमा कसले यात्रु उछिन्ने प्रतिस्पर्धा भइरहेको देख्न जो कोहिले सक्छ । जसले जानाजान दुर्घटनालाई बढावा दिइरहेको छ ।
त्यस्तै लामो दूरीका यातायातका साधन केही राम्रा भएपनी लामो दूरिका सडकमा विभिन्न समस्या आज होइन वर्षौंदेखी ज्यूँकात्यूँ छ । कुरा गरौं देशको राजधानी जोड्ने विभिन्न सडक जसमध्ये पहिलो नम्बरमा आउँछ, पृथ्वी राजमार्ग जो काठमाडौं लगायत आसपासका जिल्लाको पेट भर्ने अन्नदेखि अतिआवश्यक पेट्रोलियम, ग्यांस लगायतका दैनदिनैका आवश्यकताका सामान र देश छाडेर खाँडी, युरोप, अमेरिका,अष्ट्रेलिया आदि जाने र आउने जनता भित्रिने र बाहिरिने विकल्प दिने सडक हो तर म सानो अर्थात ४ कक्षा पढ्दा नै कृष्णभिरको पहिरो जाने गथ्र्यो त्यो बेलाको बहुदलिय सरकारले सुनेन भनेर उ बेलाका गायक गायिकाले गित नै बनाएर गाए झर्यो झर्यो झर्यो कृष्णभिरझभन्दै तर आज हामी दुई बीस उमेर पुग्ने बेला भयो समस्या त्यंही छ । पृथ्वीराजमार्गको मुग्लिन नारायणगढ सडकमा जस्ताको तस्तै अझ विकराल बनेर खडा भएको छ ।

सिद्धार्थ राजमार्गको हालत त्यही छ । पृथ्वीराजमार्गको मुग्लिन पोखरा खण्ड त्यस्तै छ । पुर्वी पहाडका जिल्लातिर जाने राजमार्गको हालत उस्तै रामेछाप,ओखलढुंगा जानेको पनि त्यस्तै । यो गणतन्त्रपछिको झण्डै दुई दशकमा केही नभए पनि १२÷१५ सरकार फेरिए होलान्, त्यो सँगै धेरैले प्रधानमन्त्री, मन्त्री बन्न दौरा सुरुवाल फेरे होलान् तर देशको सडक र सार्वजनिक यातायात उस्तै । अरु त धेरै कुरा छन् आज सार्वजनिक यातायात र सडकका कुरा मात्र गर्दैछु । यसमा सबैभन्दा ठूलो भुमिका कर्मचारीतँत्र र नेतृत्वबीचको तालमेल नमिलेको या नमिलाइएको भान यो हामीलाई मात्र हैन सम्पूर्ण जनतामा परेको छ । कर्मचारीतन्त्रसगँ पनि मन्त्रालयगत आफ्ना आफ्ना स्वार्थहरु छन् । जस्तै– अर्थ मन्त्रालयलाई राजस्व उठाउनु छ, उसले भौतिक मन्त्रालय अथवा यातायात मन्त्रालयको क्षेत्रमा पर्ने सडकको सिमिततालाई बुझ्दैन र अर्थमन्त्रालयको राजस्व उठाउने प्रेरणामा जति पनि निजी सवारी आयात हुन दिने नीति लिएको छ, त्यसले सडकको क्षमतालाई सहयोग गर्दैन ।
त्यो निति अन्तर्गतको आयातले भोलि सडकमा हुने चाप त्यसले निम्त्याउने ट्राफिक जाम, दुर्घटना, सार्वजनिक यातायातको वितृष्णाको कुनै लेखाजोखा छैन । त्यसलाई नीतिगत रुपमा सुधार गर्न नेतृत्वले नीति तदनुरुप दिर्घकालीन हुने र अन्तरमन्त्रालय बिच नबाझिने किसिमको बनाउन जरुरी छ । तर, यहाँ नीति निर्माताले नै यो विषय जटिल बनाइरहेका छन् । कुनै पनि काम द्रुतगतिमा गर्ने चलन कुनै पनि सरकारी कार्यालयमा नभएको दाबी तपाईं हामी सबैले मज्जाले अनुभव गरिरहेका छौं ।
अब कुरा गरौं पोडवेको, पहिलाको कुरा छाडौं पछिल्लो समय दुर्घटनाले अव्यवस्थित सडक र अव्यवस्थित सार्वजनिक यातायातको अहिलेको नेपाली हविगत मैले माथी वर्णन गरिसकेँ । विगत चार वर्ष पहिले सार्वजनिक यातायातबाटै आफ्नो निर्माण सुरु हुने भन्दै काठमाण्डु पोडवे दर्ता भएर सञ्चालन गर्ने भन्दै नेपालमा विभिन्न स्थानको प्रारम्भिक साम्भाव्यता अध्ययन गरेर बसिरहेको छ । यसको योजनामा लुम्बिनी परिसर, कर्णालीको तलदेखी माथि लिमीसम्म, पूर्वको कुरा गर्दा कोशी प्रदेश लगानी प्राधिकरणमा तल विराटनगर एकीकृत भन्सार चौकीदेखि चतरा हुँदै माथी भेडेटारसम्म, सगरमाथा बेसक्याम्पसम्म त्यस्तै काठमाडौं सहरभित्रको करिब १०० किमि क्षेत्रको पूर्व साम्भाव्यता अध्ययन गरेर हामी यसलाई सार्वजनिक यातायातको रुपमा भौगोलिक अप्ठ्यारा भएका र देशकै व्यस्त सडक रहेका जहाँ दिनहुँ घण्टौं जाम खेप्ने नेपालीको आदत बनिसकेको छ अर्थात् काठमाडौंको कुनै एउटा ठांउबाट सुरु गर्न पाँउ भन्दै आज चारवर्षदेखी नधाएको मन्त्रालय छैन होला । जहाँ पोडवेका प्रतिनिधिहरु नपुगेका र निर्माणका लागि विविध पक्षमा छलफल नगरेका तर यो ४ वर्षमा बागमतीमा धेरै पानी बग्यो तर काठमाडौं पोडवे उहीँ ठाँउमा छ ।
काठमाडौं पोडवे सुरु गर्दा सन् २०२० मा प्रधानमन्त्री रहेका केपी शर्मा ओली फेरि प्रधानमन्त्रीमा नियुक्त भएको पनि लामो समय भैसकेको छ । यसबिचमा देशका ठुला दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भइसके । मन्त्री त विकास निर्माणका मन्त्रालय अर्थात् भौतिक र सहरी विकासका मात्र ४÷५ थान फेरिइसके होलान् तर काठमाडौं पोडवेले कतै न राइट अफ वे पायो आजको दिन सम्म न कुनै नेपाल सरकारका विज्ञ र विशेषज्ञ न त कोही सहरी विकास मन्त्रालय न भौतिक योजना मन्त्रालयका अधिकारीहरुले यो प्रविधि प्रमाणित छैन अथवा हाम्रो देशका लागि उपयुक्त छैन पनि भन्न नसकिरहेको स्थिती छ । यो कस्तो विडम्बना हो कोही निजी लगानीकर्ता नेपालको सार्वजनिक यातायातमा काम गर्छु भन्दै चार वर्षदेखी सरकारको दैलो चहार्दै जुत्ता फटाएर, समय बिताएर बस्नुपर्ने अनि देशमा सार्वजनिक यातायात दुर्घटना र अस्तव्यस्त भएर सर्वसाधारणले दैनिक दिनचर्यामा सास्ती खेप्नुपर्ने ।
यो प्रविधि माइक्रो रेल प्रविधी हो जो अहिले विभिन्न देशमा निर्माणको क्रममा छ । भर्खरैमात्र छिमेकी राष्ट्र भारतका यातायात मन्त्री नितिन गडकरीले यो प्रविधिलाई भारतका विभिन्न स्थानमा निर्माण गर्ने घोषणा गरिसकेका छन जबकी उनी सारजांह गएर यो प्रविधिको अवलोकन गरेको एक वर्ष पनि नहुँदै त्यहाँ चाहिँ निर्माण गर्ने घोषणामा पुगिसक्यो हामी कहाँ प्रविधी कम्पनी युनिस्की स्ट्रीँग टेक्नोलोजी लगायत उसको नेपाली प्रतिनिधि कम्पनी निर्माण गर्न उत्सुक हुँदा पनि सरकारी निकाय र यसका जिम्मेवार व्यक्तीमन्त्री, सचिव, प्रधानमन्त्री यो प्रविधि अपनाउन किन तयार छैनन् गम्भीर प्रश्न खडा भएको छ ? यो प्रविधिको बारेमा जानकारी पो नभएको हो कि भनौं भने प्रधानमन्त्री तहसम्म त यो प्रविधिको जानकारी छ÷छैन भन्न सकिन्नँ तर भौतिक योजना मन्त्रालय र सहरी विकास मन्त्रालयसँग काठमाडौं पोडवेको बारम्बार छलफल र अन्तरक्रिया भइसकेको छ ।
तर, प्रधानमन्त्रीको पार्टी नेकपा एमालेको भौतिक तथा पूर्वाधार विभागले भौतिक योजनामन्त्री देवेन्द्र दाहाललाई बुझाएको १०० बुँदे सुझावमा भने पोडवे निर्माणको आवश्यकता छ र निर्माण गर्नुपर्छ भन्ने सुझाव छ र सोही सुझाव लगायत एमालेका ३२ वटै बिभागले पेस गरेर बुझाइएको प्रदिप ज्ञवाली संयोजक रहेको सुझाव समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको सुझावमा पनि पोडवे निर्माणको सुझाव रहेको मेरो बुझाई छ । साथै एमालेका तत्कालीन सचेतक हालका प्रमुख सचेतक महेश बर्तौलाले समेत हेटौंडा काठमाडौं रोपवेको जिर्ण संरचनाको सट्टामा पोडवे निर्माण गर्नुपर्छ भनेर जनताको मत बोल्ने सदनमा बोलिसकेका छन। अन्य संसदले पनि सदनमा बोलेका कुरा सदनको रेकर्डमा पक्कै छ ।
यसरी अहिलेको अव्स्थामा यो सहरको सवारी जाम व्यवस्थापन गर्न र यो प्रविधिको परीक्षणका लागि सरकारले कुनै एउटा अत्यन्त जाम हुने रुट छानेर तुरुन्तै काठमाडौं पोडवेका प्रतिनिधिलाई डाकेर प्रधानमन्त्रीले विज्ञ राखेर छलफल गरेर निर्माण प्रक्रियामा जान एकदमै ढिला भइसकेको छ । नत्र अहिलेका विकास निर्माणको गतिले जनतामा आशा मारिसकेको छ । महेन्द्र राजमार्गको बुटवल नारायणगढ खण्ड हेर्नुस् चाहे काठमाडौंको कलंकी महाराजगञ्ज सडक विस्तार हेर्नुहोस् । अन्य धेरै विकास निर्माणका काम सुस्तगतिमा भइरहेका छन् । यसबाट थाहा हुन्छ विकासको मामलामा हामी कति गैरजिम्मेवार छौं ।
यो प्रविधि भौगोलिक कठिनाई भएका पहाडी बाटोमा जहाँ लामो राजमार्ग वर्षौं लगाएर निर्माण गर्नुपर्छ जस्तै कर्णालीका लागि विशेष उपयुक्त छ । जसले केही वर्षमै पोडवेको लगानी उठाएर नाफा वितरण योग्य कम्पनी बन्न सक्ने सम्भावना उच्च राख्छ जसका लागि पब्लिक प्राइभेट पार्टनरशीप मोडल तथा तिनै तहका सरकारको क्षमता अनुसारको लगानी मार्फत पनि जान सकिन्छ । तर त्यो भन्दा अघि साम्भाव्यता अध्ययन, राइट अफ वे, आदि कुराको छिनोफानो गरेर मार्गदर्शन गर्ने एकमात्र अधिकार संघिय सरकारले राख्छ । तसर्थ म प्रधानमन्त्रीलाई सम्बोधन गर्न चाहन्छु यो प्रविधीको अवलम्बनको बाटो तपाईंको तदारुकता बिना असम्भव छ किनकी यहाँको कर्मचारीतन्त्र, कार्यशैली निकास निकाल्ने भन्दा पनि बढी दुःख दिने किसिमको छ । तसर्थ यो प्रविधि अवलम्बन गर्नका लागि प्रधानमन्त्रीले राइअट अफ वे र कार्यविधी र साम्भाव्यता अध्ययन लगायतमा चासो राखेर अगाडि नबढाए आगामी अझै कतिवर्ष पोडवेले कति चक्कर काट्ने हो त्यसको कल्पना सकिन्नँ ।
प्रविधि उपयुक्त छ थप प्रस्ट हुन प्रधानमन्त्रीले चाहे प्रविधि कम्पनीका आविष्कारक एनाटोली युनिस्की लगायत उनका प्रतिनिधि समेत आएर छलफल गर्न सक्छन् तर कमसेकम यसको आवश्यकता, औचित्य र महत्वको बारे आजैबाट प्रधानमन्त्री कार्यालय लगायत भौतिक योजना मन्त्रालय, सहरी विकास मन्त्रालय र नेपालका काठमाडौं पोडवेको बिच गम्भीर छलफल हुन जरुरी छ ।
के हो पोडवे ?
सन् २०१९ मा नेपालको सार्वजनिक यातायातको रुपमा विभिन्न स्थानमा निर्माण गर्ने उद्देश्य सहित काठमाडौ पोडवे प्रालिको स्थापना भएको हो । यो प्रविधि बेलारुसमा ४० वर्षदेखि अनुसन्धान भएको र डा. एनाटोली युनिस्कीले विकास गर्नुभएको हो । यो प्रविधि विश्वभरको मापदण्ड र प्रचलनमा रहेका विभिन्न सुरक्षा मापदण्ड प्रमाणित छ । जसमा एउटा स्ट्रीङ्गमा पड हिंड्छ जुन अत्याधुनिक प्रविधियुक्त पड हुनेछ । यो पोडवे पुर्णतया विद्युबाट सञ्चालन हुन्छ । यो पड हिंड्दा हिंड्दै बिजुली गएमा १२० किलोमिटर सम्म यसमा संचित बिजुलीले नै यसलाई गन्तब्य सम्म पुर्याउनेछ । एयरकन्डिसन चल्दा भने ८० किमि सम्मको दूरी तय गर्न सक्छ । यस पोडवे कृतिम बौद्धिकता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स युक्त छ । यो प्रविधिको विशेषता भनेको जस्तोसुकै उकालो, ओरालो, भिरालो ठाँउमा पनि निर्माण र सञ्चालन गर्न सकिन्छ भने निर्माण अवधि पनि अन्य यातायातका मार्गहरुभन्दा निकै नै कम छ, १०० कि.मी. पोडवेको निर्माण विस्तृत परियोजना अध्ययन प्रतिवेदन पश्चात् केवल १८ महिनामा नै सम्पन्न गर्न सकिन्छ । यसको एउटै ट्र्याकबाट एकै पटक यात्रु तथा मालसामान ढुवानी दुवै प्रयोजनको लागी प्रयोग गर्न सकिन्छ ।
कम्पनीले २ जनादेखि ४२ जनासम्म अट्ने किसिमको पोड निर्माण गरेको छ । जसले गर्दा जस्तो किसिमको पोडको आवश्यकता हुन्छ कम्पनीले त्यस्तै किसिमको पोड प्रयोग गर्न सक्नेछ । हाम्रो प्रविधिको प्रमुख विशेषता भनेको २ ओटा पोलको बीचको दुरी नै २ किमिसम्म राख्न मिल्छ जसले गर्दा निर्माण गर्ने समय र लागतमा बचत हुनेछ । यसको निर्माण लागत युरोपियन मापदण्डमा निर्माण हुंदा औसतमा प्रति कि.मि. ३० लाख डलर पर्छ । यो प्रविधिको पोडवे दुबई र बेलारुसमा निर्माण भई व्यावसायिक रुपमा संचालन गर्ने तयारीमा रहेको छ भने इन्डोनेसिया, एल साल्भाडोर, मदागास्कर, मरिसस मा निर्माण गर्ने सहमत पत्रमा हस्ताक्षर भइसकेको छ । यस्तै मलेसिया र भारत लगायत देशका सरकारी प्रतिनिधिले यस प्रविधिमा रुचि देखाउंदै युएई स्थित यसको प्रदर्शनी स्थलको भ्रमण गरिसकेका छ्न । नेपालको एउटा पहाडबाट अर्को पहाड सहजै जोड्न सकिने यस यातायातले दुर्गमको यात्रा सुरक्षित अनि भरपर्दो यात्रामा परिणत हुन्छ । त्यस क्षेत्रको उत्पादनलाई बजारसम्म जोड्दछ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरि ठूलो संख्यामा रोजगारी सृजना गर्ने प्रचुर सम्भावना छ ।
१. यातायात क्षेत्रमा नयाँ क्रान्ति
नेपालको भौगोलिक बनावटलाई ध्यानमा राख्दा पोडवे प्रविधिले ट्राफिक जाम कम गर्नेछ, यात्रालाई सुरक्षित, द्रुत र सहज बनाउनेछ । पहाडी र शहरी क्षेत्रमा यो प्रविधिले वैकल्पिक तथा भरपर्दो सार्वजनिक यातायातको विकल्प दिनेछ ।
२. आर्थिक वृद्धिमा योगदान
यसको निर्माण, सञ्चालन र मर्मतसम्भार लगायतले नयाँ रोजगारी सिर्जना गर्नेछ । व्यापार तथा पर्यटन क्षेत्रलाई बढावा दिँदै स्थानीय तथा विदेशी लगानी आकर्षित गर्नेछ । इन्धनमा निर्भरता घटाएर इन्धन आयातमा देशले खर्चिने अर्बौं रकम वचत मद्दत गर्नेछ ।
३. पर्यटन प्रवद्र्धन
पोखरा, लुम्बिनी, चितवन, जनकपुर जस्ता पर्यटन गन्तव्यहरूमा पोडवे निर्माणले पर्यटकको आवागमन बढ्नेछ । हामीसंग विशाल जनसंख्या र अर्थतन्त्र भएका उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारत छ यो जनसंख्याको केही हिस्सा मात्र हामीले हाम्र गन्तव्यमा ल्याउन सके पर्यटन प्रवर्धन र ठूलो रोजगारी सिर्जना हुनेछ । जसले होटल, रेस्टुरेन्ट, गाइड सेवा, हस्तकला उद्योग आदिलाई फाइदा पुर्याउनेछ ।
४. वातावरणमैत्री विकास
यो विद्युतीय रुपमा संचानल हुने भएकाले वायु प्रदूषण हुँदैन । हरियाली संरक्षण गर्न मद्दत पुग्नेछ, यसका लागि सडक विस्तार आवश्यक पर्दैन। भइरहेकै सडकको माथि पनि यसलाई संचालन गर्न सकिन्छ ।
५. शहरीकरण र ग्रामीण विकासमा सहयोग
पोडवेका कारण सहर–गाउँको दूरी घट्नेछ, जसले ग्रामीण क्षेत्रमा रोजगारी, व्यापार र सेवा सुविधाहरू बढाउनेछ। ग्रामिण क्षेत्रका उत्पादन सहर सम्म सजिलै र सुलभ मूल्यमा आउँछ जसले गर्दा सहरको जनसंख्याले ताजा र सस्तो मूल्यमा कृषि उपज प्राप्त गर्नेछन । हालै असोज महिनामा भएको वर्षा, बाढी र त्यसपछी गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्द हुँदा बाटोमा फसेका ट्रकमा करोडौ मूल्यका स्याउ कुहिए त्यो स्थिती को अन्त्य गर्न यस यातायातले मद्दत गर्छ ।
६. लगानीमैत्री पूर्वाधार
अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि नेपालमा पूर्वाधार क्षेत्रमा आकर्षण बढ्नेछ । सस्तो, द्रुत र भरपर्दो यातायात प्रणालीको विकास भएसँगै औद्योगिक तथा व्यापारिक केन्द्रहरू विस्तार गर्न सजिलो हुनेछ ।
७. जनताको जीवनशैलीमा परिवर्तन
द्रुत, सुरक्षित र सुलभ यातायात सेवाका कारण यात्रुहरू समय र खर्च दुवै बचत गर्न सक्षम हुनेछन् । शिक्षण तथा स्वास्थ्य सेवामा पहुँच बढ्नेछ, किनभने दुर्गम क्षेत्रका मानिसहरू सहज रूपमा सहरमा आवतजावत गर्न सक्नेछन् ।
अन्तमा, युनिस्कि स्ट्रिङ टेक्नोलोजीको यो पोडवे यातायात नेपालका लागि यातायात, व्यापार, पर्यटन, रोजगारी, र वातावरणीय सुधारका दृष्टिले महत्वपूर्ण परियोजना बन्न सक्छ । सही योजना, लगानी, र व्यवस्थापनका साथ लागू गरिएमा यसले नेपाललाई आधुनिक, दीगो, र समृद्ध देशतर्फ उन्मुख गराउन ठूलो भूमिका खेल्न सक्छ ।

