काठमाडौं । । श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै छ। आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ।
यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ। नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूलढोकामा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गरिन्छ ।
ज्योतिष शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख) का नागहरूको पूजा गरिन्छ। ती नाग वा तिनको नाम लेखिएको चित्र घरको मूल ढोकामाथि वा ढोकाको दायाँबायाँ गाईको गोबरले टाँसेर पूजा गर्ने शास्त्रीय परम्परा रहेको धर्मशास्त्रीहरू बताउँछन्। यसका साथै अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु, जैमिनि नाम गरेका नागलाई पनि वज्रवारकको रूपमा पुज्ने गरिएको छ।
काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।
नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मानिन्छ ।

