काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबिच नोकझोक चलेको छ । आइतबारको बैठकमा उनीहरुबिच भिजिट भिसा प्रकरणलाई लिएर नोकझोक चलेको हो ।
पहिला बोलेका अर्यालले आरोप लगाउन थालेपछि कांग्रेस सांसद खतिवडा बिचमै उठेका थिए । तर सभामुख देवराज घिमिरेले खतिवडालाई रोकेर अर्यालको समय सकिएपछि बोल्न दिए ।
डोलप्रसाद अर्याल
३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीविरुद्ध हामी आन्दोलनमा छौँ । संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति माग गरिरहेका छौँ । यस विषयलाई विषयान्तर गर्नेगरी हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो । राजनीतिलाई पेसा लगाएर वर्षौँदेखि देश दोहन गरिरहनेहरूले आफ्नो पेसा व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् । मलाई दया लाग्छ( २०४८/४९ सालतिर मन्त्रीका पिए बसेर कागज किर्ते गरेर विदेश मान्छे पठाउने काम गरेबापत हनुमान ढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू पनि आज यही सदनमा संसद् भएर बसिरहेका छन् । अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैँ टाप कस्लान् । सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो । म यही देशका केही गरेर खाने मान्छे हुँ । चोरेर खाने मान्छे होइन । मेरो समय ठिकै चलेको छ, अरूको घडीको समय बितेको छ भने म के भनौँ । मेरो कम्पनी मात्र एक जना मान्छे भिजिट भिसामा जापान मात्र होइन संसारको कुनै देश गएको छ । हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेस गर्न म चुनौती दिन्छु । होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । सभामुखज्यूबाट रुलिङको माग गर्दछु । कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ ।

