काठमाडौँ । सुन्दरबजार नगरपालिका ८ भोटेओडार नौबिसे निवासी फुटबल खेलाडी राजन मालुवा (पेले) को उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । वुद्ध यूथ क्लव (बिवाइसी) भोटेओडारले मालुवाको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
क्लवका अध्यक्ष जिवनचन्द्र गुरुङ, सदस्य योगबहादुर (कालु) गुरुङ सहित क्लवका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुले मंगलबार मालुवाको घरमा पूगेर नगद एक लाख ५० हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरे ।
क्लवले फुटबल खेलाडी मालुवाको वुवा मानबहादुर मालुवा, र आमा ज्ञानु मालुवालाई उक्त रकम हस्तान्तरण गरेको हो । क्लवले राजन मालुवा बचाउ अभियान सञ्चालन गरेर आर्थिक सहयोग संकलन गरेको थियो । क्लवको प्रतिनिधित्व गर्दै मालुवाले थुप्रै फुटवल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरिसकेको क्लवका अध्यक्ष जिवनचन्द्र गुरुङले बताए ।
मालुवाले जिल्लाकै उत्कृष्ट र सर्वाधिक पुरस्कार राशिको त्रिवेणी कप फुटवल प्रतियोगितामा थुप्रै पटक आफ्नो खेल प्रतिभा प्रस्तुत गरिसकेका छन् । लमजुङको प्रतिनिधित्व गर्दै बाहिरी जिल्ला र लमजुङको हरेक कुना कुनामा पूगेरे आफ्नो खेल प्रतिभा प्रस्तुत गरेको खेलाडी आज आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनुपर्ने अवस्था आएको क्लवका सदस्य एवं जिल्ला खेलकुँद विकास समिति लमजुङका निवर्तमान अध्यक्ष योगबहादुर गुरुङले बताए ।देश विदेशमा रहेका क्लवका शुभचिन्तकहरुले मालुवाको उपचारको लागि सहयोग गरिरहेको र सहयोग आउने क्रम जारी रहेको उनले बताए ।
बुद्ध यूथ क्लव भोटेओडारका पूर्व खेलाडी २६ वर्षिय राजन मालुवा (पेले) अहिले भारतमा उपचाररत छन् । उनलाई गम्भीर प्रकृतिको बोन म्यारो क्यान्सर भएको छ । गम्भिर प्रकृतिको रोगबाट पीडित मालुवाको उपचारमा आर्थिक अभाव भएपछि उनको परिवारले सहयोगको अपिल गरेको थियो । सोही अनुसार यतिवेला राजन मालुवा बचाउ अभियान मार्फत देशविदेशबाट सहयोग रकम प्राप्त भइरहेको छ । मालुवाको बोनम्यारो प्रत्यारोपण गर्नका लागि ठुलो रकम लाग्नेभएपछि परिवारले सहयोगको अपिल गरेको थियो । मालुवाको यतिवेला भारतको फोरटिस मेमोरीयल रिसर्च इन्ष्टिच्युट हयिरानामा उपचार भइरहेको छ ।
उनको उपचारका लागि यतिबेला झण्डै २५ लाख बढि आर्थिक सहयोग प्राप्त भएको राजन मालुवाको आमा ज्ञानी मालुवाले बताईन । छोराको उपचारमा आजको दिन सम्म ३५ लाख रुपैयाँ खर्च भइसकेको छ । अझै कति खर्च लाग्ने हो थाहा छैन, तर सवैजनाको सहयोगले गर्दा छोरोको उपचारमा सहज भएको उनले बताईन । राजन मालुवालाई उनको दाजु धुव्र मालुवाको बोन म्यारो प्रत्यारोपण गर्ने गरि अस्तपतालले उपचार गरिरहेको छ ।

