काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अध्यागमन क्षेत्र अति संवेदनशील र सुरक्षामूलक भएकाले यस्ता सामग्री प्रयोग गर्न रोक लगाइएको जानकारी दिएको हो।
सूचनामा भनिएको छ, “यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरू सबैका लागि लागू हुने गरी अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा सजावटी वस्तु प्रयोग गर्न पाइने छैन।”
कार्यालयका अनुसार यस्ता वस्तुहरूले सम्भावित सुरक्षा जोखिम बढाउने, अनावश्यक ढिलाइ गराउने तथा अध्यागमन प्रक्रियामा अवरोध सिर्जना गर्ने देखिएकोले यो निर्णय गरिएको हो।
त्यस्तै, कुनै ट्राभल एजेन्सी, म्यानपावर कम्पनी वा संगठनको चिन्ह झल्किने पोसाक, टोपी, ब्याच वा अन्य सामग्रीको प्रयोगमा समेत पूर्ण प्रतिबन्ध लगाइएको छ। यस्तो पहिरनले यात्रुबीच असमान व्यवहार भएको भान गराउने वा सुरक्षा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो कदम चालिएको सूचनामा उल्लेख छ।
कार्यालयले अध्यागमन प्रक्रियालाई मर्यादित, समान र सुरक्षित बनाउन सबै पक्षलाई सहकार्य गर्न आग्रह गर्दै, नियम उल्लङ्घन गरे कानुनी कारबाही हुने चेतावनीसमेत दिएको छ।

