२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • चौधरी ग्रुपसँगको सहकार्यमा नेपाल भित्रियो क्याम्पा...

चौधरी ग्रुपसँगको सहकार्यमा नेपाल भित्रियो क्याम्पा कोला, के छन् विशेषता

चौधरी ग्रुपसँगको सहकार्यमा नेपाल भित्रियो क्याम्पा कोला, के छन् विशेषता

मंगलवार, आषाढ ३१ २०८२०७:३८
मंगलवार, आषाढ ३१ २०८२०७:३८
  • images

    काठमाडौँ । भारतको रिलायन्स इन्डस्ट्रिजले चौधरी ग्रुपसँगको सहकार्यमा कोल्ड ड्रिंक्स ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ।

    नेपाली बजारमा नै उत्पादन र वितरण गर्नेगरी नेपाल र भारतका दुई वटा ठूला औद्योगिक घरानाले सहकार्य गरेका छन्। सोमबार एक कार्यक्रम गरी दुई घरानाका प्रतिनिधिहरूले नेपाल भित्र्याएको जानकारी गराएका हुन्।

    क्याम्पा कोला रिलायन्स इन्डस्ट्रिजको परिचित कोल्ड ड्रिंक्स ब्रान्ड हो। यो गल्फ कोअपरेशन काउन्सिल मुलुकहरूमा पहिले नै स्थापित भइसकेको ब्रान्ड हो। नेपालमा भने चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्ने छ।

    यो ब्रान्डले भारतमा आइपिएल जस्ता कार्यक्रमहरू प्रायोजन गर्दै आएको छ। भारतको अग्रणी औद्योगिक घराना  रिलायन्सका प्रतिनिधिहरूले क्याम्पा कोलाको नेपाल आगमनले व्यावसायिक सम्बन्धलाई सुदृढ पार्नुका साथै उपभोक्ता बीच लोकप्रिय हुने बताए।

    रिलायन्स कन्जुमर प्रडक्ट (आरसिपिएल) का कार्यकारी निर्देशक केतन मोदीले नेपालमा क्याम्पा ब्रान्ड ल्याउन पाउँदा आफूहरू अत्यन्त उत्साहित भएको बताए।

    कम्पनीका अनुसार, प्रारम्भिक रूपमा क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक उपलब्ध हुनेछन्।

    २५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) को उपभोक्ता मूल्य ३० रुपैयाँ तोकिएको छ। क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य भने ४० रुपैयाँ रहेको छ।

    चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा क्याम्पा कोला ल्याउन रिलायन्ससँग सहकार्य गर्नु चौधरी ग्रुप र समग्र देशका लागि गौरवको विषय रहेको बताए।

    रिलायन्स कन्ज्यूमर प्रोडक्ट्स लिमिटेड, रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एफएमसीजी कम्पनी हो।

    चौधरी ग्रुप नेपालको अग्रणी व्यावसायिक समूह हो। यसअन्तर्गत विश्व बजारमा २०२ भन्दा बढी कम्पनीहरू र २६१ ब्रान्डहरू क्रियाशील छन्। यो समूह नेपालको बहुराष्ट्रिय कम्पनी हो। खाद्य तथा पेयपदार्थ, वित्तीय सेवा, शिक्षा, पूर्वाधार, अटोमोबाइल, सूचना तथा प्रविधि, रियल इस्टेट र आतिथ्यता जस्ता क्षेत्रहरूमा यो ग्रुपको लगानी रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend