काठमाडौँ । नयाँ आर्थिक वर्षको प्रारम्भसँगै वाणिज्य बैंकहरूले साउन महिनाको लागि ब्याजदर परिमार्जन गरेका छन् । देशभरका वाणिज्य बैंकमध्ये १४ वटा बैंकले असारको तुलनामा ब्याजदर घटाएका छन् भने ४ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् ।
बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा साउन महिनाको औसत अधिकतम ब्याजदर ५.६९७५ प्रतिशतमा झरेको छ, जुन असार महिनामा ५.९०२ प्रतिशत थियो । यस आधारमा ०.२०४५ प्रतिशत विन्दु ब्याजदर घटेको हो ।
त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा पनि औसत ब्याजदर ०.२६ प्रतिशत विन्दु घटेको छ । यो घटोत्तरीको मुख्य कारण बजारमा तरलता प्रशस्त हुनु, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति पूर्वसंकेत र बैंकहरूको कर्जा प्रवाह लक्ष्य मध्यम हुनु हो भन्ने विश्लेषकहरूको बुझाइ छ ।
सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक प्रभु बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा असारमा दिइरहेको ६.१ प्रतिशतको अधिकतम ब्याजदर घटाएर साउनदेखि ४.२५ प्रतिशतमा झारेको छ । यो दर हाल वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम हो ।
यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.२६ प्रतिशत ब्याज दिने घोषणा गर्दै सबैभन्दा उच्च ब्याजदर दिने बैंकको रूपमा अग्रता लिएको छ ।
ब्याजदर यथावत राख्ने बैंकहरूमा माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिचार्थ बैंक र एनएमबि बैंक रहेका छन् । यी बैंकहरूले साउनमा व्यक्तिगत तथा संस्थागत मुद्दति दुवै निक्षेपमा कुनै परिवर्तन गरेका छैनन् ।
ब्याजदर वृद्धि गर्ने बैंक भने हिमालयन बैंक मात्र हो । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ५.५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याएको छ भने संस्थागत निक्षेपमा पनि १ प्रतिशत बृद्धि गर्दै ५ प्रतिशत पुर्याएको छ ।

