काठमाडौँ । यस वर्षको नाडा अटो शो २०२४ आगामी भदौ ११ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने भएको छ ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ११ गतेदेखि सुरु हुने नाडा अटो एक्सपो २०२४ भदौ १६ गतेसम्म चल्नेछ । अटोमोबाइल क्षेत्रको छाता संगठन नाडाले वर्षेनी दसैं तिहारको मुखमा वृहत् अटो शोको आयोजना गर्दै आएको छ ।
अटोमाबोइल व्यवसायीहरूका लागि नाडा अटो एक्सपो निकै महत्वपूर्ण सावित हुँदै आएको छ भने सवारीसाधन किन्ने र त्यसबारे जानकारी लिनेहरूका लागि एकैस्थानमा नेपाली बजारमा उपलब्ध ब्रान्ड तथा त्यससँग सम्बन्धित विषयको जानकारी लिन उपयुक्त स्थल हुनेछ ।
यस वर्षको अटो शोमा कूल सवारी उपस्थितिको अधिकतम ७० प्रतिशत ईभी अर्थात् विद्युतीय सवारी साधनको प्रदर्शन हुनेगरी शोमा १ सय ३५ वटा स्टल बुकिङ भैसकेको छ ।
अघिल्ला वर्षहरुको तुलनामा यस वर्षको शोमा सवारीसाधनको अत्यधिक बाक्लो उपस्थिति रहने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।
उनका अनुसार यस वर्षको शोमा २३ वटा ब्राण्डका चारपाङ्ग्रे सवारी, १३ वटा ब्राण्डका हल्का लाइट गाडी, १७ वटा ब्राण्डका दुईपाङ्ग्रे सवारी र २७ वटा विभिन्न अटो कम्पोनेन्ट कम्पनीहरुको सहभागिता रहनेछ ।
अटो शो हालसम्मकै ठुलो हुने भएपछि नाडाले भृकुटीमण्डको सबै ग्राउण्ड बुकिङ गरिसकेको छ । गत वर्षहरुमा आधा मात्र बुकिङ गर्ने नाडाले अहिले सबै ग्राण्उड नै बुकिङ गरिएको जनाएको छ ।
यो वर्ष पनि नाडा अटो शोमा विद्युतीय गाडीको वर्चस्व देखिने सम्भावना छ । धेरैजसो चिनियाँ कम्पनीका विद्युतीय मोडेलहरू प्रदर्शनीमा रहनेछन् । चीन इभी उत्पादनमा अग्रणी मुलुक बनेको छ । डङफेङको नामी, लिपमोटर, रिडारा, एक्सपेङ, अवतार, जीकर, भोल्टस्, काइवी लगायतका ब्रान्डहरू शोमा देखिनेछन् ।
शारडा ग्रुपले जीलीको इभी ब्रान्ड जीकर, चौधरी ग्रुपले अवतार ११, एमएडब्लु ग्रुपले नामी बक्स, र लक्ष्मी ई मोबिलिटीले काइवी ब्रान्ड शोमा ल्याउनेछन् ।
सिजी मोटर्सले रिडारा र एक्सपेङ ब्रान्डका गाडीहरू नाडामा ल्याउने तयारी गरेको छ । रिडाराले आरडी ६ प्योर इलेक्ट्रिक पिकअप, र एक्सपेङले जी६ मोडल ल्याउनेछ
शारडा ग्रुपले चेरीको जेको ब्राण्डको जे ६ मोडल पनि नाडामा प्रदर्शन गर्नेछ । यी सबै गाडीहरू नेपाली बजारमा नयाँ प्रविधि र विशेषताका साथ उपलब्ध हुनेछन् ।
नाडाले यसपटकको नाडा अटो शोको टाइटल स्पोन्सर टाटा डट ईभी रहेको जनाएको छ ।
पहिलो पटक गाडी म्यानुफ्याक्चरीङका प्रतिनिधि आउने
नाडा अटो शो २०२४ मा पहिलो पटक गाडी म्यानुफ्याक्चरीङ कम्पनीका प्रतिनिधिको समेत सहभागिता रहने भएकोे छ । यसअघि अटो शोलाई लक्षित गरेर नयाँ मोडलका गाडीहरु भित्र्ने गरेकोमा अहिलेको शोमा गााडी बनाउने कम्पनीका अधिकारीहरु नै आउने नाडाले जनाएको छ ।
भारतको प्रिन्सीपल कम्पनी (गाडी म्यानुफ्याक्चरीङ एशोसिएसन) स्यामका ११ जना र चीनका प्रतिनिधिहरु नाडा अटो शोमा सहभागि बन्ने तयारी भएको महासचिव उप्रेतीले जानकारी दिए ।
उनीहरु नेपालमा विद्युतीय गाडीको व्यवसाय विस्तारसँगै नीतिगत विषयमा छलफल गर्ने तयारीका साथ आउन लागेको पाइएको बताए ।

