काठमाडौँ । संसारलाई राम्रो बनाउने सपना सबैले देख्छन्, तर यो सपना तब मात्र साकार हुन्छ, जब सही मानिसहरू समयमै बोलेर, उठेर, अघि सर्छन् । आज हामीले जुन संसार देखिरहेका छौंः अन्याय, भ्रष्टाचार, हिंसा, अत्याचार र स्वार्थको गन्धले भरिएको । यसको मुख्य कारण केवल ‘नराम्रो मान्छे’ होइनन्, बरु ती ‘राम्रा मान्छे’ हुन्, जो मौन छन् ।
नराम्रो मानिसको स्वभाव नै हुन्छ स्वार्थी बन्ने, अरुलाई दबाउने, नियम तोड्ने र गलत बाटो अपनाउने । तर, जब समाजमा राम्रा, शिक्षित, इमानदार र निडर मानिसहरू मौन रहन्छन्, त्यतिबेला गलतहरूले ठाउँ पाउँछन् । उनीहरू बोल्दैनन्, विरोध गर्दैनन्, जिम्मेवारी लिंदैनन्। परिणामस्वरूप, समाज अँध्यारोको दिशा तिर डोरिन्छ ।
इतिहासले बारम्बार देखाएको छ– जब सत्यको पक्षधरहरूले चुप्पी साधे, तब असत्यले उन्मुक्ति पायो । जब नायकहरूले डरले मुख बन्द गरे, तब खलनायकहरूले गद्धारीको झन्डा फहराए । मौनता कहिल्यै समाधान होइन; यो त अपराधीहरूको सहायक बन्ने दुस्खद चुप्पी हो ।
एक जना शिक्षकले विद्यालयमा भ्रष्टाचार देखे, तर बोल्न डराए । एक जना कर्मचारीले घूस खाँदै गरेको दृश्य देखे, तर उ नजर झुकाएर हिडे । एउटा सचेत नागरिकले छिमेकमा अन्याय भयो, तर उसले आँखा चिम्लियो। यस्तो मौनता समाजका लागि घातक हुन्छ ।
यसो हुँदा हुँदै पनि हामी परिवर्तन चाहन्छौं । तर परिवर्तन त केवल तब सम्भव हुन्छ, जब राम्रो सोच भएका, सच्चा मन भएका, निडर हृदय भएका मानिसहरूले चुप बस्न छाड्छन् । तिनले आवाज उठाउँछन्, कलम चलाउँछन्, पाइलाहरू अघि बढाउँछन् ।
हामीले बुझ्नुपर्छ — मौन बस्ने ‘राम्रो मानिस’ अपराध गर्नेमध्ये एक होइन, तर उनी गलतलाई मौन सहमति दिइरहेका हुन्छन् । त्यसैले आजको सबैभन्दा ठूलो आवश्यकता हो ।
राम्रो मान्छेले बोल्न सुरु गरुन्, अन्यायविरुद्ध उठून्, र समाजको नेतृत्व लिऊन् । संसार त्यसैले राम्रो बन्नेछ, किनभने अब राम्रा मान्छे मौन रहने छैनन् ।

