काठमाडौँ । विगत ५९ औँ दिनदेखि प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गर्दै आएका छन् । लामो समयदेखि संसदमा अवरोध गर्दै आएका रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभामा विरोध जारी राखेका छन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै ५९ औँ दिनदेखि दुई दल आन्दोलनरत छन्। आजको बैठकमा पनि रास्वपाबाट तोसिमा कार्की र राप्रपाबाट दीपक सिंहले बोलेर बैठक बहिस्कार गरेर हिँडे।
उनीहरूले सरकारले गठन गरेको छानबिन समितिलाई टालटुलेको संज्ञा दिँदै आफूहरूको माग अनुसार गठन नभएसम्म आन्दोलन नछाड्ने अडान सुनाए।
दिउँसो १ बजेका लागि तय भएको बैठक केही ढिलोगरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध गर्दै बहिस्कार गरेका हुन् ।
सभामुखले समय दिएपछि भिजिट भिसा प्रकरणको निश्पक्ष छानबिनका लागि सरकार तयार नभएको आरोप लगाए । उक्त माग राखेर उनीहरू १३ जेठ २०८२ देखि प्रतिनिधि सभामा विरोध गर्दै आएका छन् । १५ जेठमा बजेट प्रस्तुत गर्न दिएता पनि बाँकी बैठकका गतिविधिमा भाग लिएका छैनन् ।
सुरुमा वेल घेराउ र नाराबाजी गरेका रास्वपाका सांसदहरूले केही समय वेलमै पलेंटी कसेर बसेर विरोध जनाए । पछिल्लो समय आफ्ना कुरा राख्ने र बाहिरिने गर्दै आएका छन् ।
विगतमा झैँ बिहीबारको बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरू उठे ।

