काठमाडौँ । नेपाल महिला राष्ट्रिय फुटबल टोलीको क्याप्टेन सावित्रा भण्डारी (साम्बा) लाई गृह जिल्ला लमजुङमा भव्य सम्मान गरिएको छ । केही दिनदेखी गृह जिल्लामा रहेकी साम्बालाई विभिन्न संघसंस्थाहरुले सम्मान गरेका हुन् ।
साम्बालाई खेल क्षेत्रसँग सम्वन्धित संघसस्था तथा क्लवहरु प्याब्सन लमजुङ, एन्फा लमजुङ, त्रिवेणी युवा क्लव, मस्र्याङदी युवा क्लव बेसीशहर, बेसीशहर युथ सोसाइटि र आर्दश युवा क्लव बेसीशहरले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
बेसीशहरस्थित त्रिवेणी युवाक्लवका अध्यक्ष राजकुमार घिमीरेको अध्यक्षता एवं बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्यालको प्रमुख आतिथ्यतामा साम्बाको सम्मान कार्यक्रम भएको हो । कार्यक्रमका बेसीशहरका चारवटा क्ल ,व र प्याव्सन लमजुङको तर्फबाट संयुक्त रुपमा कदरपत्रसहित साम्बालाई दोसल्ला ओडाएर सम्मान गरीएको थियो ।
कार्यक्रममा उपस्थित विभिन्न विद्यालयका विद्यार्थीहरुले साम्बालाई फुटबल खेलमा उनको यात्रा, आजको उपलव्धिबारे जिज्ञासा राखेका थिए । विद्यार्थीका जिज्ञासालाई सम्बोधन गर्दै साम्बाले विभिन्न समस्याका बावजुत पनि खेल प्रतिको निरन्तर अभ्यास र कडा मेहनत आँफुले अहिलेको उपलव्धि प्राप्ती गरेको बताए ।
आफ्नो उपलब्धीलाई आत्मसाथ गर्दै भविष्यमा आफु खेल क्षेत्रको प्रवद्र्धनमा लाग्ने भन्दै साम्बाले लमजुङमा महिला फुटवललाई प्राथमिकतामा राख्न समेत सरोकारवालाहरुलाई आग्रह गरे । विगतको अभाव र जटिलता स्मरण गर्दै साम्बाले अहिलेको अवस्थामा सरोकारवालाहरुले चाहेमा महिला फुटवल खेलाडी उत्पादनका लागि लमजुङ पर्याप्त सम्भावना भएको दावि गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायव उपरिक्षक रेशम बोहरा, बेसीशहर नगरपालिका–९ का अध्यक्ष खुशीजङ गुरुङ, एन्फा लमजुङका अध्यक्ष लोकेन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, बेसीशहर युथ सोसाईटीका अध्यक्ष रविन श्रेष्ठ, मस्र्याङदी युवाक्लवका अध्यक्ष विजय श्रेष्ठ, न्यु आदर्श युवाक्लव सहजीका अध्यक्ष राजेन्द्र केसी विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक विद्यार्थी एवं जिल्लामा क्रियाशिल संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
यसैविच साम्बालाई सोमवार नै जिल्ला खेलकुद विकास समिति लमजुङले पनि सम्मान गरेको छ । जिल्ला अध्यक्ष सुमन श्रेष्ठ, पूर्व अध्यक्ष शुभाष पौडेल, कोषाध्यक्ष रवि थापा लगायतले सम्मान गरे ।
यसैगरी जेकेएफ गोजुकाई ताकुची केन्बुकान कराते संघ, प्रदेश अस्पताल लमजुङ, मानवसेवा आश्रम बेसीशहर, बुद्ध मेमोरियल बोर्डिङ स्कूल बेसीशहर, भोेटेवडारस्थित भक्ति नमुना माध्यमिक विद्यालय, बुद्ध युथ क्लब, भोटेवडार युथ सोसाईटी भोटेवडार लगायतले पनि छुट्टाछुट्टै सम्मान गरेका छन् । भक्ति नमुना माध्यामिक विद्यालय भोटेओडारले नगद १० हजार रुपैयाँ सहित साम्बालाई सम्मान गरेको विद्यालयका प्रधानाध्यापक नवराज अधिकारीले बताए ।
यसैगरी आईतबार साम्बाले बाल्यकालमा अध्ययन गरेको मस्र्याङ्दी–९ पामचोकस्थित सरस्वती सदन आधारभूत विद्यालयले सम्मान गरेको थियो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामबहादुर थापा र प्रधानाध्यपक रामचन्द्र घिमिरे लगायतले दोसल्ला, सम्मानपत्र र नगद १० हजारसहित सम्मान गरिएको थियो । त्यसैगरी आईतबारनै स्थानीय आमा समुह, साम्बाको मावली गाउँ मस्र्याङ्दी–३ तरापुका आमा समुहहरुले सम्मान गरेका थिए ।
लमजुङको मस्र्याङदी गाउँपालिका–९, सिम्पानीमा जन्मिनु भएकी भण्डारी नेपाली महिला फुटवलको अव्वल खेलाडी हुनुहुन्छ । गाउँदेखि अन्तराष्ट्रिय प्रतिष्पर्धामा भण्डारीको खेल कलाले सवैलाई चकित पारेको छ । नेपाली राष्ट्रिय टिमको कप्तान समेत बन्नु भएकी साम्बा युरोपियन मुलुकमा व्यवसायिक फुटवल खेल्ने पहिलो नेपाली महिला खेलाडी हन ।
सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेकी साम्बा हालै अस्ट्रेलियाको निन्जा ए–लिगमा खेल्न अनुबन्धित भइन । उनले आगामी दुई सिजनका लागि वेलिङटन फोनिक्ससँग सम्झौता गरिसकेकी छिन् ।
वेलिङटन न्यूजील्याण्डको क्लब भए पनि अस्ट्रेलियाको निन्जा ए लिग खेल्दै आएको छ । साम्बाले हालैको एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गरेकी थिईन । भारतको महिला सुपर लिगमा २४ खेलमै ६० भन्दा बढी गोल गरेपछि साम्बाले फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पमा खेल्दै युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएकी थिइन ।

