काठमाडौँ । लमजुङ क्याम्पस सुन्दरबजारमा प्रथम राष्ट्रिय कोदो दिवस मनाइने भएको छ । लमजुङ क्याम्पस सुन्दरवजारको सहकार्यमा सामुदायिक रुपान्तरणका लागि यूवा नेपाल (वाइसिटि), खाद्यका लागि कृषि अभियान र सुन्दरबजार नगरपालिकाको संयुक्त आयोजनामा साउन १६ र १७ गते प्रथम राष्ट्रिय कोदो दिवस मनाइने भएको हो ।
नेपाल सरकारको असार २३ गते बसेको मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन १६ गतेलाई कोदो दिवस मनाउने निर्णय गरे अनुसार लमजुङ क्याम्पसमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । यस वर्ष दिवसको नारा ‘कोदोजन्य बालीको आहार, खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ तय गरिएको छ ।
लमजुङ क्याम्पस सुन्दरबजारको परिषरमा आयोजना हुने कार्यक्रम कृषि, आहार तथा सांस्कृतिक विविधताको उत्सवस्वरूप मनाइने भएको छ । कार्यक्रममा कोदो रोपाई, कृषि प्रदर्शनी, स्थानीय बीउको अवलोकन, कोदो विशेष परिकार, पोस्टर–तथ्यांक प्रदर्शन, नाटक प्रस्तुति, लगायतका विविध गतिविधिहरू समावेश गरिने सामुदायिक रुपान्तरणका लागि यूवा नेपाल (वाइसिटि) का अध्यक्ष समन्वय निरौलाले बताए ।
उक्त कार्यक्रममा लमजुङ वरपर रहनुभएका इच्छुक महानुभाव तथा किसान एवं सरोकारवाला निकायका जो सुकै व्यक्ति सहभागी हुन सक्ने लमजुङ क्याम्पसमा अध्ययनरत विद्यार्थी निश्चल घिमिरेले बताए । यसअघि राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी निकायले अनौपचारिक रुपमा कोदो दिवस मनाउदै आएको थियो । यो वर्ष देखि नेपाल सरकारले अपनत्व लिदै राष्ट्रिय रुपमा मनाउने निर्णय लिएको हो ।
सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ । कोदो र कोदोजन्य परिकारको माग बढे पनि सरकारले उत्पादन बढाउन सकेको छैन । विगतको तथ्यांक हेर्दा कोदोको उत्पादन घट्दै गएको छ ।
कृषि मन्त्रालयका अनुसार २०७८–७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा खेती र ३ लाख ३९ हजार ४ सय ६२ टन उत्पादन भएको थियो । २०७९–८० मा क्षेत्रफल घटेर २ लाख २७ हजार ९ सय ३४ हेक्टर पुगेको छ । उत्पादन पनि घटेर ३ लाख १० हजार ८ सय ४७ टनमा झरेको मन्त्रालयको तथ्यांक छ । देशमा बर्सेनि करोडौंको कोदो आयात हुने गरेको छ ।

