काठमाडौं । नेपालले पहिलोपटक महिला टी–२० विश्वकप ग्लोबल छनोट आयोजना गर्ने ऐतिहासिक अवसर पाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई घरेलु मैदानमै विश्वस्तरीय प्रतियोगिता आयोजना गर्न जिम्मा दिएको हो। प्रतियोगिता आगामी पुष २८ गतेदेखि माघ १९ गतेसम्म काठमाडौंस्थित मुलपानीका दुई मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ।
यो नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो महिला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हो। यसअघि थाइल्यान्डमा सम्पन्न एसिया क्षेत्र छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाएको थियो। अब, घरेलु मैदानमै ग्लोबल छनोट खेल्न पाउने भएपछि नेपाली टोली थप उत्साहित देखिएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, पछिल्लो समय नेपाली क्रिकेटले पाएको उचाइ, आयोजना गरिएका राष्ट्रिय प्रतियोगिता, एनपीएलको सफल चर्चा, र पर्याप्त पूर्वाधार विकासले गर्दा नेपालले यस्तो अवसर पाएको हो। उनका अनुसार, मुलपानीमा रहेका दुई अन्तर्राष्ट्रिय मैदान र कीर्तिपुरको स्तरीयता आईसीसीको मुल्यांकनमा सकारात्मक सावित भयो।
यसपटकको ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुनेछन्, जसलाई दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहका शीर्ष ३ टोली ‘सुपर सिक्स’ चरणमा पुग्नेछन् र त्यसमा उत्कृष्ट चार टोलीले इंग्ल्यान्ड र वेल्समा सन् २०२६ मा हुने महिला टी–२० विश्वकपको लागि छनोट हुनेछन्। बंगलादेश र आयरल्यान्ड भने २०२४ को विश्वकपमा सहभागिता जनाइसकेकाले स्वतः छनोट भएका छन्।
ग्लोबल छनोटको आयोजना नेपालमा हुने निर्णयप्रति महिला टोलीकी पूर्वकप्तान रुबिना क्षेत्री वेलबासेले खुसी व्यक्त गरेकी छिन्। “घरमै विश्वस्तरीय खेल खेल्न पाउनु एउटा ऐतिहासिक अवसर हो,” उनले भनिन्, “अरुबेला विदेशमै खेल्नुपथ्र्यो, अब भने आफ्नै दर्शकमाझ प्रतिस्पर्धा गर्ने मौका पाएका छौं।” थाइल्यान्डबाट फर्किएपछि टोलीका सदस्यहरू तयारीमा जुटेका छन् भने फिटनेस र प्रविधिमा सुधारका लागि प्रशिक्षकहरूसँग नियमित प्रशिक्षण भइरहेको छ।
यस आयोजनाले नेपाली खेलकुद मात्र होइन, पर्यटन, रोजगारी र आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। सरकार र क्यानले संयुक्त रूपमा पूर्वाधार विस्तारमा ध्यान दिए नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम ‘न्युट्रल भेन्यु’ बन्ने सम्भावना देखिएको छ।
क्यानका अनुसार, ग्लोबल छनोटको अवसर प्राप्त हुनु आफैमा ठूलो उपलब्धि हो, जसले नेपालको क्रिकेट व्यवस्थापन र खेलस्तरप्रति आईसीसीको विश्वास झल्काउँछ। अब यो अवसरलाई सफलतापूर्वक उपयोग गर्दै नेपालले अन्तर्राष्ट्रिय खेल जगतमा अझ बलियो पहिचान बनाउन सक्नेछ।

