काठमाडौँ । बेसिशहर नगरपालिकाले चालु आर्थिक बर्षको २०८२/८३ का लागि विकास, प्रशासनिक र योजना सम्बन्धी कार्यहरूका लागि समय सिमा तोकेको छ । चालु आर्थिक बर्षमा बसेको नगर कार्यपालिकाको पहिलो बैठकले चालु बर्षको काम र योजनालाई व्यवस्थित रुपमा सम्पन्न गर्न समयसिमा तोकेको हो ।
नगरपालिकाले नगर तथा वडाका योजनाका लागि असोज मसान्तसम्म उपभोक्ता समिति गठन गर्ने, मंसीर १५ भित्र योजनाको सम्झौंता गर्ने र बैशाख मसान्तसम्म सबै योजना सम्पन्न गर्ने निर्णय गरेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।
त्यसैगरी नगरपालिकाले चालु वर्षको वार्षिक समीक्षा गोष्ठी यहि साउन २९ र ३० गते आयोजना गर्नेछ । त्यस्तै, कर्मचारीहरूको कार्यविवरण, कार्यसम्पादन संझौता कार्य तथा शाखागत÷क्षेत्रगत कार्ययोजना पनि साउन महिनाभित्रै तयार पार्ने बैठकले निर्णय गरेको छ । नगरपालिकाले ठेक्का बन्दोबस्ती तर्फका आयोजनाहरूको सूचना असोज १५ गतेभित्र सार्वजनिक गरिसक्ने समेत बैठकले निर्णय गरेको छ ।
खरिद प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गर्न खरिद योजना भदौ मसान्तसम्म तयार गर्ने, परामर्श सेवाको पहिचान र आयोजनाहरूको लागत अनुमान (इष्टिमेट) पनि भदौ महिनाभित्र सम्पन्न गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले बताउनुभयो । बेसिशहर नगरपालिकाले यी कार्यहरू निर्धारित समयमा सम्पन्न गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा विकास निर्माणका कार्यहरूमा गति ल्याउने अपेक्षा गरिएको नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले बताईन ।
बेसीशहर नगरपालिकाले गत आर्थिक वर्ष २०८१÷०८२ मा समग्रमा ८३.०९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो । नगरपालिकाको आर्थिक योजना शाखा प्रमुख सिर्जना पौडेलले नगरपालिकाको चालु तर्फ ८२.६१ प्रतिशत र पुँजीगत खर्चतर्फ ८४.०९ प्रतिशतगरी गत बर्ष कूल ८३.०९ प्रतिशत बजेट खर्च गरेको बताईन ।
नगरपालिकाले आगामी दिनहरूमा अझ पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यान्वयन मार्फत विकास निर्माण र सेवा प्रवाहलाई अझ सशक्त बनाउन विगतमा झै चालु बर्षका लागि पनि समय सिमा तोकेर योजनाको काम अघि बढाएको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए ।

