काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमाका अवसरमा देशभर रक्षाबन्धन, जनै पूर्णिमा (ऋषितर्पणी) पर्व धार्मिक उत्साहका साथ मनाइँदै छ। वैदिक सनातन धर्मावलम्बीहरूले बिहानै नदी, ताल, तलाउ वा पोखरीमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको यज्ञोपवीत र रक्षासूत्र धारण गरेका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार सत्ययुगमा दानवराज बलीलाई गुरु वृहस्पतिले डोरो बाँधेर रक्षा गरेको पौराणिक कथाको स्मरणस्वरूप रक्षाबन्धनको परम्परा चल्दै आएको हो। यस अवसरमा गुरु–पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ मन्त्र उच्चारण गर्दै दाहिने नाडीमा रक्षासूत्र बाँधिदिन्छन्।
ब्राह्मण, क्षत्री र वैश्य वर्गका तागाधारीहरूले आजको दिन नयाँ यज्ञोपवीत (जनै) फेर्ने गर्छन्। यसका लागि चतुर्दशीदेखि व्रत बस्ने, स्नानमा गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका प्रयोग गर्ने वैदिक विधि रहेको छ। स्नानपछि ऋषितर्पण तथा रुद्राभिषेक गरी नयाँ जनै धारण गरिन्छ।
यसैदिन क्वाँटी खाने परम्परा पनि छ। एघार थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने, चिसो हटाउने र पेट सफा गर्ने आयुर्वेदिक मान्यता रहेको चिकित्सक डा. वंशदीप शर्मा खरेलले बताए।
तराई क्षेत्रमा भने दिदी–बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने प्रचलन छ, जसलाई पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि अपनाउन थालिएको छ।
आजको अवसरमा मणिचूड, गोसाइँकुण्ड, कुम्भेश्वर, पाँचपोखरी, जनकपुरधाम, दानसाधु, त्रिवेणीधामलगायत देशभरका तीर्थस्थलमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ।

