काठमाडौँ । राजधानीमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सोमबारसम्मा जारी हुने भएको छ । आईतबारसम्मका लागि भनिएको अटो शोमा अवलोकनकर्ताहरूको अप्रत्याशित भीड लागेपछि आयोजकले प्रदर्शनीको अवधि एक दिन थपेर सोमबारसम्म लम्बाएको हो ।
श्रावण २१ बुधबारदेखि २५ गतेसम्म ५ दिनका लागि तय गरिएको एक्स्पो अब अवलोकनकर्ताहरूको चाप र मागलाई ध्यानमा राख्दै श्रावण २६ गते, सोमबारसम्म सञ्चालन हुने नाइमाले जनाएको छ ।
आयोजकका अनुसार, शनिबारसम्मका सुरुवाती चार दिनमा मात्रै ६९ हजार ५ सय जनाले एक्स्पो अवलोकन गरिसकेका छन् ।
नाइमाका अनुसार पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार र शनिबार मात्रै २१ हजार ५ सय जनाले एक्स्पोमा सहभागिता जनाएका थिए । शनिबार परेको मुसलधारे पानीका बाबजुद पनि अवलोकनकर्ताहरूको उत्साहमा कुनै कमी आएन, बरु सबैभन्दा बढी भीड सोही दिन देखियो, जसले गाडीप्रति आममानिसको चासोलाई स्पष्ट पार्छ ।
एक्स्पो स्थलमा आफूलाई मनपर्ने दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनबारे जानकारी लिने, सोधपुछ गर्ने, बुकिङ गर्ने र खरिद गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ । कार्यालयको काममा व्यस्त रहनेहरूले समेत शनिबारको सार्वजनिक बिदाको भरपुर उपयोग गर्दै एक्स्पो अवलोकन गरेका थिए ।

