काठमाडौँ । ट्होटें पर्व मनाउनका लागि लमजुङको क्व्होलासोथार गाउँपालिकाले साउन २७ गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।
गुरुङ जातिको साँस्कृतिक पर्व ट्होटेको अवसर पारेर क्व्होलासोँथार गाउँपालिकाले मंगलबार एक दिन स्थानिय विदा दिएको हो ।
गाउँपालिकाले आइतबार सार्वजनिक सुचना जारी गर्दै साउन २७ गते मंगलबारका दिन क्व्होलासोँथार गाउँपालिकामा सार्वजनिक विदा गरिएको जानकारी गराएको छ । लमजुङ जिल्ला सहित गण्डकी प्रदेशका गुरुङ समुदायले साउन महिना र चैत महिनाको अन्तिम मंगलबार साँस्कृतिक पर्वको रुपमा ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउदै आएका छन् ।
उक्त ट्होटे पर्वको अवसरमा गाउँपालिका वा अन्तर्गतका कार्यालयहरु, वडा कार्यालयहरु, अत्यावश्यक बाहेकका स्वास्थ्य संस्थाहरु, सबै विद्यालयहरु तथा अन्य संघ संस्थाहरुमा बिदा दिइएको गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङले बताए ।
गुरुङ समुदायको बाक्लो उपस्थिति रहेकाले कार्यापालिका बैठकले स्थानीय बिदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चित्र घलेले बताए ।
गुरुङ जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको अन्तिम मङ्लबारमा ट्होटें मनाउदै आएका हुन् । ट्होटें पर्वका दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । गुरुङ भाषामा ट्होको अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टेंको अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।

