काठमाडौं । रुपन्देही र कैलाली कारागारको अनुगमन पछि राष्ट्रिय मानव अधिकार आयोगले औपचारिक भनाइ सार्वजनिक गरेको छ।
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई राखिएको रुपन्देही कारागारको अनुगमनमा आयोगले लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द हुँदा हावा नपठ्ने, कोठाबाहिर हिँडडुल गर्न नदिइएको र स्वास्थ्यका लागि कोठा उपयुक्त नभएको फेला पारेको छ। साथै अदालतको आदेश भए पनि स्थानान्तरण नभएको जनाएको छ।
आयोगले रुपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, ज्येष्ठ नागरिक र बिरामीलाई छुट्टै ठाउँ नहुँदा समस्या रहेको, पर्याप्त पत्रपत्रिका नपुग्ने, सामाजिक सुरक्षा भत्ता नपाउने समस्या रहेको र बेलाबे जेलमा सर्प छिरेको समेत पाइएको बताएको छ।
कैलाली कारागारमा भएको हिंसात्मक मुठभेडको अवस्थामा राज्य संयन्त्रले समस्या समाधानमा पर्याप्त पहल नगरेको, सुरक्षाकर्मीको कमी र सुरक्षा जाँच फितलो भएको आयोगले उल्लेख गरेको छ।
आयोगले कारागारको सुरक्षा व्यवस्था चुस्त बनाउन, सुधार गृहको रूपमा विकास गर्न, प्रशासनिक क्रियाकलाप पारदर्शी बनाउन र कैदीबन्दीप्रति मानव अधिकारमैत्री व्यवहार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।

