ललितपुर । ललितपुर महानगरले ०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट प्रदर्शन गर्ने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको छ।
महानगरले २२ वटा संस्थागत विद्यालयका ७८ जना र ६ वटा सामुदायिक विद्यालयका ८ जना विद्यार्थीलाई पुरस्कार वितरण गरेको हो। सामुदायिक विद्यालयतर्फ ३.९५ भन्दा माथि र संस्थागत विद्यालयतर्फ ४.० जिपिए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान दिइएको छ।
पुरस्कार कार्यक्रममा महानगरले प्रत्येक विद्यार्थीलाई जनही दुई लाख रुपैयाँ र सामुदायिक विद्यालयलाई चार लाख रुपैयाँ हस्तान्तरण गरेको छ। संस्थागत विद्यालयतर्फ धापाखेलको जेम्स स्कुलका १६ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन्। सामुदायिक विद्यालयतर्फ बुङमतीको आदर्श सौल युवक माध्यमिक विद्यालयका तीनजना विद्यार्थीमध्ये एकजनाले ४ जिपिए र दुईजनाले ३.९६ जिपिए प्राप्त गरेका छन्।
ललितपुर महानगरपालिकामा शैक्षिक सत्र ०८१ को एसईई परीक्षामा ९१.५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सामुदायिक विद्यालयतर्फ ८१.०५ प्रतिशत र संस्थागत विद्यालयतर्फ ९४.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
महानगर प्रमुख चिरिबाबु महर्जनले भने, “उत्कृष्ट विद्यार्थी र विद्यालयले महानगरको शिक्षाको हब भएको पुष्टि गरेको छ। यो पुरस्कारले विद्यार्थी र विद्यालयलाई प्रेरणा र हौसला दिएको छ।”
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कार पाउनेहरूलाई बधाई दिँदै जीवनका ठूला परीक्षा सामना गर्न तयार रहन सुझाव दिइन्। प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले विद्यार्थी, विद्यालय र अभिभावकको मिहिनेतले सफलता सुनिश्चित भएको बताए।
महानगरका प्रवक्ता राजु महर्जनले भने, “कोरोनापछि सुरु गरिएको सम्मान र पुरस्कारले शैक्षिक गुणस्तर सुधारमा ठूलो योगदान दिएको छ र विद्यार्थीलाई प्रेरित गरेको छ।”

